कार्तिक ६,काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग ब्याश लिग(बीबीएल)का लागि मेलबर्न स्टार्समा आवद्ध भएका छन् ।
विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका सन्दीप डिसेम्बरदेखि मेलबर्न स्टार्समा आवद्ध हुने भएका हुन् । उनी डिसेम्बर १० मा टिममा सहभागी भए पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने क्रिकइन्फोले जनाएको छ ।
गएको जनवरीमा सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगमा सन्दीपको माग बढिरहेको छ ।
क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा, बंगलादेश प्रिमियर लिग हुँदै उनी बीबीएलसम्म आइपुगेका छन् । सन्दीपसँग अष्ट्रेलियामा ग्रेड क्रिकेट खेलेको अनुभव भने रहेको छ ।