“ गुरु ”

विषय प्रवेश

गुरुर्ब्रह्मा, गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।

गुरु: साक्षात् परब्रह्म तस्मै श्रीगुरुवे नम: ।।

आज गुरुपूर्णिमा । गुरुप्रति सम्मान गर्ने दिनको रुपमा मनाइदै गर्दा गुरु को हुन् र कहाँ छन् भन्ने विषयमा कोट्याउने प्रयास गरेको छु ।

शाब्दिक अर्थ

गुरु शब्द ‘गु’ र ‘रु’ दुई शब्दहरू मिलेर बनेको शब्द हो । ‘गु’ को अर्थ अन्धकार तथा अज्ञान र ‘रु’ को अर्थ तेज वा प्रकाश भन्ने हुन्छ । नेपाली वृहद् शब्दकोषले गुरू शब्दको अर्थलाई१. कुनै विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक;अध्यापक, २. सङ्गीतकला आदि सिकाउने व्यक्ति;उस्ताद, ३. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति;आचार्य, ४. बुद्धि, बल, उमेर आदिमा श्रेष्ठ तथा आदरणीयवा पूज्य व्यक्ति, मान्यजन भनी अर्थ्याएको पाइन्छ ।

गुरु शब्दको पर्यायवाची अंग्रेजी शब्द ‘टिचर’ वा ‘मास्टर’ हो । जसको अर्थ पनि शिक्षा दीक्षा दिने व्यक्ति वा जान्ने व्यक्ति भन्ने आउँछ ।

व्याख्या र विश्लेषण

माथिका अर्थहरूलाई हेर्दा ‘गुरु’ शब्दले सबै क्षेत्रलाई समेटेको देखिन्छ । गुरु शैक्षिक क्षेत्रमा हुनुहुन्छ । गुरु कला क्षेत्रमा हुनुहुन्छ । गुरु अध्यात्म क्षेत्रमा हुनुहुन्छ । गुरु हरेक पेशा क्षेत्रमा हुनुहुन्छ । गुरु शब्दको वास्तविक अर्थ केलाउँदा अज्ञानरूपी अन्धकारलाई चिरेर ज्ञानरूपी उज्यालो मार्गमा डोहोर्याउने व्यक्ति भन्ने अर्थ लाग्छ । संकुचित अर्थमा हेरियो भने गुरु केवल विद्यालयमा शिक्षा दिने शिक्षक हुन् । तर वृहद् रूपमा सोँच्ने हो भने गुरु केवल विद्यालयमा शिक्षा दिने शिक्षक होइनन् । गुरु त जीवनको गोरेटोमा प्रगति पथमा डोहोर्याउने ती तमाम नि:स्वार्थ हितैषी हुन् । जसले खराब सोँच्नबाट, खराब काम गर्नबाट तपाईँलाई रोक्छ र सहि मार्गमा लाग्न अभिप्रेरित गर्दछ ।

आजको यथार्थ

मानिसहरू भन्ने गर्छन्, आजको भौतिक युगमा मानिस सुख र सयलको खोजीमा दिनरात भौँतारिरहेको पाइन्छ । तरपनि धेरै मानिस सुख के हो ? खुशी के हो ? भन्ने कुरा थाहा नै नपाई संसारबाट बिदा हुन्छन् । बासना, कामना, सम्पत्ति र भोग नै सयल हो भनी सम्झन्छ र त्यसकै पछि दौडन्छ । त्यसमा सुख र सन्तुष्टि प्राप्त गरेको भान पनि गर्दछ । तर त्यो क्षणिक आनन्द मात्र हो भन्ने कुरा बिर्सन्छ । वास्तविक सुख त आफ्नो अन्तरआत्मा र परम्‌प्रभु चिनेपछि मात्र प्राप्त हुन्छ ।  र, गुरुले आफू भित्रको आत्मालाई चिन्न सहायता गर्नुहुन्छ । संसार चिनाउन सहयोग गर्नुहुन्छ ।

गुरुको रुपमा प्रकृति र जीवन

यो प्रकृति, समय, परिस्थिति र अनुभव पनि गज्जबकै गुरु जस्तो लाग्छ । मानिसले धेरै कुरा आफ्नै अनुभवबाट सिक्दछ । कुनै कुरा देखेर सिक्दछ भने कुनै कुरा भोगेर । यतिखेर तपाईँ यो लेख पढ्दै हुनुहुन्छ भने एकछिन रोकिएर सोँच्नुस् त तपाईँले आफ्नै अनुभवबाट कति कुरा सिक्नुभयो जीवनमा ? केही न केही त आए होलान् नि । आएनन् र आफ्नै अनुभवबाट सिकेका कुराहरू ? यो आत्मा, यो जीवन आफैमा एउटा गुरु हो ।

गुरुको बद्लिएको परिभाषा

अहिलेको डिजिटलाईज्ड युगमा त झन् गुरुको परिभाषा नै बद्लिएको छ । विकृति र कुकृत्यलाई छाडिदिने हो भने इन्टरनेटको माध्यमबाट पनि हामी धेरै कुरा सिकिरहेका छौँ । फेसबुक, इन्स्टाग्राम, ट्वीटर, भाइबर, ह्वाट्स एप र युट्युब लगायतका सोसियल मिडियाहरुले शिक्षा प्रदान गर्छन् र धेरै कुरा सिकाउँछन् भन्दा गलत हुन्छ जस्तो लाग्दैन ।फरक यत्ति हो कि हामी त्यसलाई कुन रुपमा प्रयोग गर्न रुचाउँछौँ ? इन्टरनेट गुरु बन्दैछ । को गुरु ? को चेला ? सबै गुरु । सबै चेला । तपाईँको मोबाइलमा पनि अनेक थरीका एपहरू होलान् सिक्ने र सिकाउने प्रकृयाको लागि । रेडियो, टेलिभिजन, अखबार, म्यागेजिनबाट पनि धेरै कुरा सिक्नु वा जान्नु भएको होला ।

तेजोमय प्रकाश

त्यसो भए गुरु को हो त ?

आफूमा रहेको ज्ञान हस्तान्तरण गर्न अहोरात्र खटिरहने व्यक्ति नै गुरु हुन् । जसबाट हामी ज्ञान पाउँछौ, ती माध्यम वा वस्तु सबै गुरु हुन् । जसबाट केही ज्ञान प्राप्त हुन्छ त्यो तपाईँको गुरु हो । हुनसक्छ त्यो ज्ञानको मात्रा घटी वा बढी प्राप्त भएको होस् तरपनि गुरु चाहिँ हुन् है । त्यसैले त आज हामी भन्न बाध्य भएका छौँ नि;

“ज्ञात, अज्ञात सबै गुरुहरु प्रति हार्दिक नमन ।”

 

[लेखक मनोज कार्की धादिङ गजुरीस्थित महेन्द्रोदय माबिका शिक्षक हुनुहुन्छ ।]

संम्बन्धित समचार

Leave a Reply