शिथिल अर्थतन्त्रलाई उठाउने देउवाको दायित्व

-राज ढुंगाना                       

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणले अझै विश्वलाई नै हायलकायल पारिरहेको छ । अहिलेसम्म विश्वभरी २० करोड २ लाख १५ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने ४२ लाख ८५ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ । १८ करोड १७ लाख ४ हजार भन्दा बढी निको पनि भइसकेका छन् । नेपालमा पनि अहिलेसम्म सरकारी तथ्याङ्क अनुसार ७ लाख ७७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । ६ लाख ६५ हजार भन्दा बढी कोरोना निको भएर घर फकिएका छन् । एकपछि अर्को भेरिएण्ट आउने क्रम जारी छ । अहिले नेपालमा डेल्टा भेरियन्ट फैलिरहेको विज्ञहरु बताउछन् । २०७६ फागुनदेखि काठमाडौँसहित देशभर निषेधज्ञा अहिलेसम्म निरन्तर रहेको छ । विभिन्न जिल्लामा थरीथरीका निषेधज्ञा कायमै छ ।

पछिल्लो समय कोरोना संक्रमणदर बढीरहेको तथ्य सार्वजनिक भइरहेका छन् । आम नेपाली कोरोनाको त्रास र भयमा भएको नै करिव डेढ बर्ष बितिसकेको छ । यो बिचमा सामान्य घर चलाउने मानिसदेखि ठुला–ठुला व्यापारीसमेत मारमा परेका छन् । आम नागरिकको जनचासोमा निरन्तर रहनुपर्ने सरकारसमेत निरिह छ । होटल,व्यवसाय,बैदेशिक रोजगार, शैक्षिक संस्था,साना तथा मझौला व्यवसाय, स्वरोजगार व्यवसाय सबै चौपट छन् । जनता कोरोनाको कहरकै बीचमा आर्थिक तथा मानसिक समस्याबाट विक्षिप्त भइरहेका छन् । कोरोनाको यो कहर अझै कति समय अघि लम्कने हो अहिलेसम्म अध्ययनको निष्कर्ष आइसकेको छैन् । बैज्ञानिकहरु यसको एकपछि अर्को भेरिएण्टबाट आजित भइसकेका छन् । यद्यपी खोज जारी नै छ । अनुसन्धानमा वैज्ञानिक सक्रिय भइरहेका छन् । नेपालमा कोरोना कहरको सरुवाती देखि केही सयअघि सम्म केपी शर्मा ओलीको सरकार कायम थियो ।

नेपालको सन्दर्भमा आम नेपालीले यस्तो महामारीको बेला भर्खरै बर्हिगमित ओली सरकारबाट खासै अपेक्षा गरेका थिएनन् । कोरोना महामारी त विश्वभरी फैलिएकै थयो । यसबाट नेपाल अछुतो हुने कुरा त पक्कै थिएन् । यस विषयमा तत्कालिन ओली सरकारले जनताको स्वास्थ्यमाथी खेलवाड गरेकै हो । आवश्यक स्वास्थ्य सामाग्री जोहो गर्नभन्दा पहिले लकडाउन गरेर हाई काढ्दै कोरोनाको औषधी बेसारपानी भनेर फुक्दैमा दिन बितेकै हो । कोरोनाको पहिलो लहरबाटै सरकार जनताको स्वास्थ्य र उनिहरुको जिविकोपार्जन गर्ने सवालमा अनुदार देखिएकै हो । यो घाम जत्तिकै छर्लङ छ । लकडाउन गरेर जनतालाई काठमाडौँबाट महेन्द्रनगर हिँडाउनेदेखि लिएर कोरोना नियन्त्रणको लागि किनिएको स्वास्थ्य समाग्री खरिदमा घोटाला गर्ने काम भएकै थिए । यी र यस्तै दुष्कर्मको फलस्वरुप ओली सरकार बर्हिगमनमा परिसकेको छ ।

लामो रस्साकस्सी र नेपालको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु परेको परिबन्दमा अहिलेको नयाँ सरकार बनेको छ । हुनत देउवाले संसदमा विश्वासको मत पाइसकेका छन् । उनी संसदबाट प्रधानमन्त्री बनेको प्रष्टै छ । तर उनलाई विपक्षीले लगाउने आरोप परमादेशबाट बनेको सरकारको ट्यागलाई उनले बदलेर जनताको सरकार बनाउन चानचुने त्याग,योजना र रणनितीले हुँदैन । उनले आफ्नो गठबन्धनमा रहेका शिर्ष नेता, आफ्नै दलका अन्य अनुभवी नेता, पुर्वप्रधानमन्त्रीहरु सबैसंग सहकार्य गर्नु आवश्यक छ । खासगरी यतिबेला सरकार कोरोना नियन्त्रणमा मुख्यगरी लाग्नुपर्ने देखिन्छ । यो सरकारको सफलता र असफलता नै कोरोना नियन्त्रणमा चाल्ने कदमबाट देखिन्छ । कोरोनाको कारण कैयन मान्छेका सपना टुटेको छ । कैयन व्यवसायीको व्यवसाय धरापमा परेको छ । लाखौ बिद्यार्थीहरुको तहगत परिक्षा रोकिएका कारण भविष्य नै अनिश्चित भइरहेको छ ।

होटल/पर्यटन व्यवसाय उठ्नै नसक्ने गरी थलिएका छन् । अन्तराष्ट्रि«य व्यापार घाटा बढ्दो छ । बैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स घट्दो क्रममा छ । विकासका योजनाहरु एकपछि अर्को गर्दै पछाडी धकेलिएको अवस्था छ । यी सबै नकारात्मक सुचकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक अवस्थामा मोड्नुपर्ने देखिन्छ । रोकिएका परिक्षाहरु समयमै सम्पन्न गर्न छुट्टै विज्ञहरुको समिती बनाएर कसरी परिक्षा सम्पन्न गर्ने भन्ने विषय टुङ्ग्याउन जरुरी छ । होटल तथा पर्यटन क्षेत्रको उत्थानको लागि थप प्याकेज ल्याउन आवश्यक छ भने साना तथा मझौला व्यावसायको उत्थानको लागि पनि विशेष प्याकेज ल्याउन जरुरी छ । यसको लागि देउवा सरकाले तत्काल कार्य शुरु गर्नुपर्छ । सरकारले अहिलेको आर्थिक अवस्थाबारे प्रष्ट पार्न स्वेतपत्र नै जारी जारी गरेको छ । देशको अहिलेको आर्थिक अवस्थाको विषयमा आम नागरिक प्रष्ट भएका छन् । अब देउवा नेतृत्वको सरकारले आंकडामात्रै प्रस्तुत गरेर हैन । बिग्रि भत्केको र तल झरेको आर्थिक आंकडालाई माथी पुर्याउने कार्य तत्काल शुरु गर्नुपर्छ । जनताले अब यो वा त्यो बहानामा देउवालाई छुट दिने अवस्था छैन । त्यसैले गतिलो मन्त्रिमण्डल बनाएर पारदर्शी मुभमेन्ट चाल्न जरुरी छ । यसबारे पक्कै पनि सरकार गम्भिर छ भन्ने आम नागरिकलाई विश्वास दिलाउन भाषण भन्दा व्यवहारमै देखिने गरी काम गर्छ की गर्दैन भन्ने मुख्य कुरा रहन्छ ।

समयक्रम बित्दै जाँदा पछिल्लो समय नेपाललाई विभिन्न मुलुकबाट खोप सहयोग प्रदान भइरहेको छ । भलै पछिल्लो समय आएको खोप ओली सरकारको पहलमा भएको हो भन्न हिच्किचाउन हुन्न । ओलीले धेरथोर मेहनत गरेकै हुन् । कुटनितिक प्रयासबाट केही मुलुकले खोप दिएकै हुन् । यसले आम नागरिकमा अब खोप लगाउन पाइन्छ भन्ने विश्वास पलाएको छ । ओलीले आफ्नै पार्टीमा भएको किचलो थेग्न नसकेर उनले पटक–पटक संसद विघटन गर्ने देखि लिएर सरकारलाई पंगु बनाएकै हुन् । नत्र त दुई तिहाई नजिक रहेको शक्तिशाली पार्टी निर्लज्ज तरिकाबाट बर्हिगमन हुनुपर्ने नै थिएन् । अब देशमा नयाँ सरकार आएको छ । हुन त आम नागरिकले देउवाबाट खासै अपेक्षा गरेका छैनन् । आम नागरिकले भनिरहेका छन् उनिपनि त टेस्टेड नेता न त हुन् । हिजो के गरेका थिए र ? आज गर्छन भन्ने आश गर्नु ? सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसका सभापति देउवा यो पटक मात्रै हैन् पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाइसकेका छन् ।

यो भन्दा अघि उनको कार्यकालमा खासै सम्झनलायक काम भएको पाइदैन् । उनलाई सफल नेतृत्व पनि भनिएको छैन् । अहिलेको परिस्थितीमा देउवाले आफ्नो क्षमता देखाउने बेला आएको छ । कुटनितिक ढंगबाट छिमेकी मुलुकसहित अन्य देशबाट खोप अनुदान तथा खरिद दुवै गरेर आम नेपालीलाई खोपको सुनिश्चितता गर्न उनी कति सफल हुन्छन् त्यो हेर्न बाँकी नै छ । खासगरी उनको क्षमताको परिक्षा अब सुरु भएको छ । उनले देशमा कोरोनाबाट तहसनहस भएको अर्थतन्त्रलाई माथी उठाउन सर्वप्रथम पहल गर्न आवश्यक छ । निरन्तर डेढ बर्ष लकडाउनमा फसेका आम नेपालीलाई खोपको पुर्ण व्यवस्थासहित आर्थिक क्रियाकलापलाई सहज बनाउन विशेष रणनिती तयार गर्न मुख्य जरुरी छ । ओली सरकारको पालामा भएका भ्रष्टाचार छानविन गर्ने, कोरोनाबाट प्रभावित साना,मझौला तथा ठुला व्यवसायीको लागि आर्थिक प्याकेज ल्याउने, देशमा सुशासन कायम गर्ने ,आम जनतामा भइरहेको सरकाप्रतिको वितृष्णा कम गर्दै सरकाप्रति नागरिकको भरोसा कायम गर्न उनले र उनको टिमले सक्नुपर्दछ । नत्र उनको प्रधानमन्त्रीको पाँचौ कार्यकाल पनि असफल हुनेछ र इतिहासमा धेरैपटक प्रधानमन्त्री,तर जहिल्यै असफल कहिल्यै काम गरेर देखाउन नसकेका प्रधानमन्त्रीको रुपमा उनि चित्रित हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply