धितोपत्र बोर्डका अध्यक्षलाई फेरी अर्को स्पष्टीकरण पत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठकाडौँ । पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले बिहीबार अर्को स्पष्टीकरण माग गरेको छ । सर्वोत्तम सिमेन्टमा ढुंगानाको भाइ र बुहारीका नाममा पनि ठूलो संख्यामा शेयर रहेको पाइएपछि मन्त्रालयले अध्यक्ष ढुंगानालाई पत्र पठाउँदै यसबारे स्पष्टीकरण माग गरेको हो ।

संस्थान समन्वय महाशाखाका उपसचिव इन्द्र देवकोटाले अध्यक्ष ढुंगानालाई यस विषयमा जवाफ माग गर्दै बिहीबार अपराह्न पत्र पठाएको मन्त्रालय स्रोतले बतायो ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा छानबिनका लागि मन्त्रालयले गठन गरेको समितिले बोर्डका अध्यक्ष ढुंगानाका सहोदर भाइ मणि (दर्ता किताबमा मनि भनी उल्लिखित) ढुंगाना र बुहारी रोशन ढुंगानाको नाममा शेयर रहेको भृटिएको थियो । मणि ढुंगानाका नाममा १७ हजार ८६८ कित्ता र रोशन ढुंगानाका नाममा ५ हजार ८५६ कित्ता शेयर छ ।

दर्ता किताबमा मणि ढुंगानाको अभिभावकको नाममा नन्दराज ढुंगाना र रोशन ढुंगानाको अभिभावकमा भीष्मराज ढुंगाना उल्लेख गरिएको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता शेयर रहेको खुले पनि उनका भाइ–बुहारीका नाममा शेयर रहेको विषय खुलेको थिएन ।

यस विषयमा ढुंगानाले मन्त्रालयको छानबिन समिति र संसद्‌को अर्थ समितिलाई जानकारी दिएका थिएनन् । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ समितिको वैठकमा अध्यक्ष ढुंगानाका अरु पारिवारिक सदस्यको नाममा समेत सर्वोत्तम सिमेन्टको शेयर रहेको हुनसक्ने र मन्त्रालयले यसबारे छानबिन गरिरहेको बताएका थिए ।

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने तयारी गरिरहेका वेला ढुंगानाले पदीय दुरुपयोग गरेको तथा भित्री कारोबार गरेको भनी अर्थ मन्त्रालयले यस विषयमा छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ । संसद्‌को अर्थ समितिले पनि यस विषयमा श्रृंखलाबद्ध छलफल गर्दै तत्काल छानबिन गरी कानून बमोजिम कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

नियामक निकायका अधिकारीहरूले सर्वसाधारणलाई शेयर जारी गर्नु पूर्व नै सर्वोत्तम सिमेन्टको शेयर हत्याएपछि अर्थ मन्त्रालयले अहिले कानून महाशाखा प्रमुख परासर ढुंगानाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी छानबिन गरिरहेको छ ।

समितिले यो कारोबारमा गम्भीर आर्थिक अपराध गरेको भेटिएर कारबाहीको तयारी गरेपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले राजीनामा दिइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस