काठमाडौं– एमाले–माओवादी पार्टी एकता प्रकृया अन्तिममा पुगेर सुस्ताएको छ । तर, नेताहरु भने एकता प्रकृया नसुस्ताएको र पार्टी एकता भएरै छाड्ने दावी गर्छन् ।
यसअघि पार्टी एकता घोषणाका लागि सम्भावित मिति नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, कालमाक्र्स जयन्ती र मे दिवसको चर्चा भएको थियो । तर, यी तीनवटै मिति गुजारीसकेका दुई दलले अव सम्भावित नयाँ मितिबारे चर्चा नै गर्न छाडेका छन् ।
‘मिति घोषणा नगर्ने नीति अनुसार नै नगरिएको हो तर, एकता नहुने भन्ने छैन’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले रातोपाटीसँग भने, ‘एकता घोषणा गर्न दुई नेताबीच अनौपचारिक छलफल भइरहेको छ । उहाँहरुलाई निश्कर्षमा पुग्न समय लाग्दा मात्रै केहि ढिला हुन गएको हो ।’
पार्टी एकताका लागि गठिन राजनीतिक कार्यदलका सदस्य समेत रहेका नेता नेम्वाङले दुई दल एकता प्रकृयामा कुनै विवाद बाँकी नरहेको पनि दावी गरे । उनले विवाद नरहेपनि के कारणले ढिलाई भइरहेको छ भन्नेमा भने अनविज्ञता प्रकट गरे ।
‘समय अभावले पनि हुनसक्छ । सैद्धान्तिक विषयहरु टुगिइसकेका छन्,त्यसैले पार्टी एकता रोकिनुपर्ने कुनै कारण छैन,’ नेम्वाङको भनाई छ ।
उनले यति धेरै ठुला पार्टीको जिल्लादेखि केन्द्रसम्मका पार्टी संरचना अध्ययन गर्न नेतृत्वहरुलाई समय लाग्दा केही ढिला हुन गएको आफ्नो बुझाइ रहेको बताए । यसअघि सरकार सञ्चालन प्रक्रिया र बजेटका प्राथमिकता निर्धारण गर्दासमेत प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएपछि एकता प्रकृया थप अलमलमा परेको थियो ।