तिजको मुख्य दिन आज, उमामहेश्वरको आराधना गरी मनाइँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ भाद्र २४, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भदौ २४, काठमाडौँ । आज हरितालिका तिज । तिज पर्वको मुख्य दिन आज उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ । हिजो दर खाएका हिन्दू नारीहरूले आज बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन् ।

हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ । यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन् ।

विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने चलन पनि छ । महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन् । सक्नेले दिनभर पानीसमेत नखाई व्रत बसेर साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने र कथा सुन्ने गर्छन् । भोली सबेरै सूर्यलाई अर्घय दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ ।

सामाजिक रूपमा पनि तिजको ठूलो महत्व छ । तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो दर खाने गर्छन्। तिजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस