संखुवासभा हत्याकाण्ड: आरोपी लोकबहादुरका भाइ समातिए, हत्यामा संलग्न भएको आशंका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ३१, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भदौ ३१, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । हत्याका मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक रञ्जना कार्कीको हराईरहेको मोबाइल लोकबहादुरकै घरमा भेटिएपछि भाइ नरेशलाई पनि नियन्त्रणमा लिइ सोधपुछ गरिएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले जानकारी दिए ।

‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’

बिसीका अनुसार लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि उनले मोबाइल चोरेर लगेको हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

संखुवासभाको मादीमा २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव भेटिएको थियो ।

अनुसन्धानका क्रममा छिमेकी लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरको हत्या गरेको खुलेको थियो । त्यसक्रममा घरका अन्य सदस्यले देखेपछि सबैलाई हत्या गरेको साबिती बयान लोकबहादुरले दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस