विद्युत प्राधिकरणले थप ५ सय चार्जिङ स्टेसन बनाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन ९, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने भएको छ । प्राधिकरणले विभिन्न निजी र सार्वजनिक संस्थाहरुसंग मिलेर ५ सय स्टेशन बनाउने जनाएको हो ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष देशभरका विभिन्न निजी संस्थाहरुसँग मिलेर ५ सय वटा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।

प्राधिकरणले आवश्यकता अनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, रेष्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थानसँग सहकार्यका लागि कार्यक्रम तयार गरेको सूचनामा उल्लेख्य गरिएको छ ।

चार्जिङ स्टेसन पूर्वपश्चिम राजमार्ग, पृथ्वी, सिद्धार्थ, बीपी र मदनभण्डारीलगायतका राजमार्गमा स्थापना गर्न लागिए छ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा निर्माण गरिने छ । नौ महिनाभित्र कार्य सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ ।

चार्जिङ स्टेशन निर्माणका लागि सहुलियत व्याजमा ऋण
विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत व्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ केन्द्रीय बैंकले सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पुनकर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय सवारीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेशन निर्माणमा विशेष ध्यान दिएको हो । विशेष पुनरकर्जाका लागि विभिन्न कर्जायोग्य मानिने भन्ने व्यवस्थाअन्तर्गत विशेषगरी विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापनाका लागि प्रवाह भएका कर्जालाई त्यसमा समेटिएको छ ।

पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ ।

विद्युतीय सवारीसाधनको आयातमा समेत उल्लेख्य वृद्धि भइरहेको छ । व्यवसायीले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधनकै हाराहारीमा विद्युतीय सवारी साधनसमेत आयात गरिरहेका छन् । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नयाँ खरिद हुने सवारी साधन विद्युतीय हुने स्पष्ट पारिसकेको छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले चार्जिङ स्टेशन निर्माणका लागि व्यवसायी आकर्षित होउन् भन्ने ध्येयका साथ सरल ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस