राष्ट्रसङ्घमा मोदीले विश्वको ध्यान तान्दै भने-‘भारत मदर अफ डेमोक्रेसी हो’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ आश्विन ११, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ११,काठमाडौँ । विश्व मञ्चमा भारतको भूमिकाको व्यापक बयान र संयुक्त राष्ट्रसङ्घ (युएन)को प्रभावकारिता तथा विश्वसनीयतामा प्रश्न उठाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ‘मदर अफ डेमोक्रेसी’ अर्थात् लोकतन्त्रकी आमा भएका बताएका छन्। सन् २०१४ यता चौथो पटक संयुक्त राष्ट्र सङ्घको महासभामा बेलेका भारतीय प्रधानमन्त्री मोदीले २१ मिनेट लामो भाषण गरेका थिए।

यस क्रममा उनले इन्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो विस्तारवाद र अन्तर्राष्ट्रिय संस्थाहरूलाई कमजोर बनाउने विषयलाई समेत उठाएका छन्। विश्व ‘प्रतिगामी सोच र चरमपन्थी’को बढ्दो खतराको सामना गरिरहेको भन्दै मोदीले अन्तर्राष्ट्रिय समुदायलाई’ अफगानिस्तानको नाजुक स्थितिको फाइदा कसैलाई उठाउन नदिनु आग्रह गरेका छन्।

यसका साथै ‘कसैले आफ्नो स्वार्थको उपकरणका रूपमा समेत अफगानिस्तानलाई प्रयोग गर्न नदिनु समेत मोदीले अन्तर्राष्ट्रिय समुदायलाई बताएका छन्।

क्वाड राष्ट्रका प्रमुखहरू र अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि पाकिस्तानलाई निशाना बनाउँदै उनले इस्लामाबादको ‘प्रतिगामी सोच र आतङ्कवादलाई एक राजनीतिक उपकरणको रूपमा प्रयोग गर्ने’ विषयलाई लिएर पनि ध्यानाकर्षण गराए।

यस्तै उनले संयुक्त राष्ट्र सङ्घमा अन्तर्राष्ट्रिय भ्रातृत्वलाई अफगानिस्तानका ‘महिला, बालबालिका, अल्पसङ्ख्यक र अन्य मानिसहरूलाई सहयोगको आवश्यकता रहेको भन्दै एक्लै नछाड्न आग्रह गरे।

मोदीले ‘खुला र स्वतन्त्र इन्डो-प्यासिफिक’का विषयमा बोल्दै भने, ‘हाम्रा महासागरहरू हाम्रा साझा सम्पती हुन्, त्यसैले हामीले ध्यानमा राख्नुपर्छ कि हामीले समुद्री संसाधनहरूको उपभोग मात्रै गर्नुपर्छ, दुरुपयोग गर्नु हुँदैन।’

‘महासागरहरू अन्तर्राष्ट्रिय व्यापारका मेरुदण्ड पनि हुन्, हामीले महासागरलाई विस्तार र बहिष्करणको दौडबाट बचाउनु पर्छ, एक नियममा आधारित विश्व व्यवस्थाको सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनु पर्छ, भारतले सुरक्षा परिषद्को नेतृत्व गर्दाको व्यापक सहमतिले समुद्री सुरक्षाको आगामी बाटो देखाउँछ।’

उनले अघि भने, ‘यदि संयुक्त राष्ट्रसङ्घ सान्दर्भिक रहन चाहन्छ भने, यसले प्रभावकारिता र विश्वसनीयतालाई प्राथमकितामा राख्नु पर्छ। अहिले संयुक्त राष्ट्र सङ्घको विषयमा धेरै किसिमको प्रश्न उठ्ने गर्छन्।’

‘हामीले जलवायु परिवर्तनको बिषयमा प्रश्न उठेको देखेका छौं, यस्तै हामीले कोभिडका बेला, विश्वका धेरै ठाउँमा चलिरहेको प्रोक्जी वार, आतङ्कवाद र हालै अफगानिस्तानको सङ्कटले यी प्रश्नलाई झनै गम्भीर बनाएको छ।’

‘कोभिड-१९को उत्पत्तिका विषयमा, व्यापार सहजता श्रेणीकरणको बिषयमा, विश्वव्यापी संस्थानहरूले उनीहरूको विश्वास गुमाएका छन्, जुन दशकौँको कडा मेहनतको परिणाम थियो।’ यसरी भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसङ्घ प्रणालीको तीव्र शब्दमा तर, ध्यान दिएर आलोचना गरेका छन्।

चीनका विपरीत भारतीय प्रधानमन्त्री मोदीले हजारौँ वर्षदेखिको लोकतान्त्रिक परम्पराको कुरा उठाएका छन्।

उनले भने, ‘हाम्रो विविधता नै हाम्रो बलियो लोकतन्त्रको पहिचान हो, भारत हजारौँ भाषा र सयौँ बोलीको देश हो, विभिन्न जीवनशैली र व्यञ्जनहरू यो नै एउटा जिवन्त लोकतन्त्रको बलियो उदाहरण हो।’

‘लोकतन्त्रको बल यो तथ्यबाट प्रमाणित हुन्छ कि एक सानो केटा जो कुनै बेला रेलवे स्टेसनमा आफ्नो चिया पसलमा आफ्नो बुबालाई सहयोग गर्थ्यो, आज भारतको प्रधानमन्त्रीको रूपमा चौथो पटक संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै छ ,’ उनले भने।

मोदीको भाषण अमेरिकी राष्ट्रपति बाइडेनसँगकको भेटपछि आएको हो। ह्वाइट हाउसमा भेटका क्रममा बाइडेनले भनेका थिए, ‘खुला र स्वतन्त्र इन्डो-प्यासिफिक भनेको ‘लोकतान्त्रिक सुदृढीकरण र विविधताको संयुक्त प्रतिविद्धताुका लागि हो।’

राष्ट्रका लागि काम गरेको २० वर्ष पुग्दा प्रधानमन्त्री मोदीले गुजरातको सबै भन्दा लामो समयसम्मको मुख्यमन्त्रीका रूपमा एवं भारतको प्रधानमन्त्रीका रूपमा ७ औं वर्ष जिम्मेवारी सम्हालिरहेका बेला उनले भने, ‘हो लोकतन्त्रले गर्न सक्छ, लोकतन्त्रले गरेर देखाएको छ।’

शनिवार अर्थात् २५ सेप्टेम्बरका दिन भारतीय राजनीतिज्ञ दिनदयाल उपाध्यायको जन्मजयन्तीलाई समेत स्मरण गर्दै उनको ‘अभिन्न मानवतावाद’ को दर्शनले कसैलाई पछाडि नछोडेको मोदीले बताए।

‘यो सिद्धान्तलाई ध्यानमा राखी भारत आज एकीकृत न्यायसङ्गत विकासको बाटोमा अगाडि बढिरहेको छ। हाम्रो प्राथमिकता यो हो कि, विकास समावेशी, व्यापक, सार्वभौमिक, र सबैलाई पोषण हुने किसिमको हुनुपर्छ,’ मोदीले भने।

यस्तै उनले ‘जनधन’ एवं ‘आयुष्मान् भारत’ लगायतका योजनाहरूबाट करोडौँ नागरिकहरूले लाभ लिएको समेत स्मरण गरे।

मोदीले भारतको प्रगतिलाई वैश्विक विकास मार्गमा जोडेका छन्। ‘संसारमा हरेक छैटौँ व्यक्ति भारतीय छन्, जब भारतीयले प्रगति गर्छन्, तब यसले विश्वको विकासमा योगदान गर्छ, जब भारतको वृद्धि विकास हुन्छ तब विश्वकै वृद्धि विकास हुन्छ, जब भारतमा सुधार हुन्छ, तब संसारमै परिवर्तन हुन्छ,’ उनले भने।

यस्तै उनले विश्वकै पहिलो ‘डिएनए’ खोप, ‘एमआरएनएु खोपको विकास अन्तिम चरणमा रहेको एवं नाकबाट लगाउने खोपको समेत विकास भइरहेको जानकारी गराए। यस्तै उनले भारतले अब, फेरि खोप निर्यात सुरु गर्न थालेको समेत अवगत गराए।

भारतीय प्रधानमन्त्री मोदीले विश्वका खोप उत्पादक कम्पनीहरूलाई भारतमा खोप बनाउन समेत आग्रह गरेका छन्। ‘म विश्वभरका खोप निर्माताहरूलाई निमन्त्रणा दिन्छु, आउनुहोस् भारतमा खोप बनाउनुहोस्,’ मोदीले भने।

विश्वलाई ‘टेक्नोलोजीुको आवश्यकता रहेको समेत उनले अवगत गराए। यद्यपि, ‘प्रविधिसँगै लोकतान्त्रिक मान्यतालाई समेत ध्यानमा राख्नुपर्ने’ उनको भनाइ थियो।

जलवायु परिवर्तनका सन्दर्भमा भारतको भिजन र योजना, स्वच्छ ऊर्जा एवं ग्रिन हाइड्रोजनको विषयमा समेत उनले कुरा गरे। ‘जलवायु परिवर्तनका क्षेत्रमा भारतले चालेका कदम तपाइले महसुस गर्न सक्नुहुन्छ,’ उनले भने।

यस्तै भारतको ७५ औँ स्वतन्त्रता दिवसमा भारतीय विद्यालयका विद्यार्थीहरूले बनाएका ७५ वटा स्याटलाइट प्रक्षेपण गरिने समेत उनले जानकारी गराएका छन्।

‘उग्रवाद र अफगानिस्तानको मुद्दाको खतरामा उनले भने, ‘आज, संसार प्रतिगामी सोच र उग्र वादको बढ्दो खतरा सामना गरिरहेको छ। यस्तो स्थितिमा सम्पूर्ण विश्वले विज्ञानमा आधारित तर्कसङ्गत र प्रगतिशील सोचलाई विकासको आधार बनाउनु पर्छ।’

पाकिस्तानलाई संकेत गर्दै मोदीले भने, ‘प्रतिगमनशील सोच भएका देशहरू जो, आतङ्कवादलाई एक राजनीतिक उपकरणको रूपमा प्रयोग गरीरहेका छन्। यी देशहरूले बुझ्नु पर्छ कि आतङ्कवाद उनीहरूको लागी पनि उत्तिकै ठुलो खतरा हो।’

‘यो सुनिश्चित गर्न बिलकुल जरुरी छ,’अफगानिस्तानको भूमि आतङ्कवाद फैलाउन र आतङ्कवादी हमलाहरूको लागी प्रयोग गरिँदैन। यो पनि सुनिश्चित हुनुपर्छ कि, कसैले अफगानिस्तानको नाजुक स्थितिको फाइदा कसैले उठाउनु हुँदैन र आफ्नो स्वार्थका लागि पनि प्रयोग गर्नु हुँदैन।’

‘यति बेला अफगानिस्तानमा महिला, बालबालिका एवं अल्पसङ्ख्यक नागरिकहरूलाई सहयोगको आवश्यकता छ र यसका लागि हामीले उनीहरूलाई सहयोग प्रदान गरी कर्तव्य पूरा गर्नुपर्छ,’ उनले भने।

अन्त्यमा उनले संयुक्त राष्ट्र सङ्घको प्रभावकारिता र विश्वसनीयताको विषयमा नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरकव भनाइलाई उद्धृत गर्दै आफ्नो सम्बोधन अन्त्य गरे।

‘राम्रो कामको बाटोमा साहसतापूर्वक अगाडि बढ्दा, तपाइ आफ्ना कमजोरीहरू र शङ्काहरूलाई जित्न सक्नु हुन्छु, ‘यो सन्देश प्रत्येक जिम्मेवार राष्ट्रको लागी सान्दर्भिक छ र यो संयुक्त राष्ट्र सङ्घको लागि पनि हो,’ उनले भने।

 

ताजा अपडेट

खोजी गर्नुहोस