गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच गर्ने कार्य सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १४, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक १४, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने कार्य सुरु भएको छ ।

मंगलबार भैरहवामा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल धावनमार्ग कालोपत्र गर्ने कार्यको शुभारम्भ गरे ।

तीन किलोमिटर दूरीको धावनमार्ग मौसमले साथ दिए चार महिनाभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ ।

धावनमार्गमा कालोपत्र र लाइटिङको काममात्र बाँकी रहेको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

निर्माण कम्पनीले भने धावनमार्गका लागि ८० प्रतिशत नदीजन्य पदार्थलगायत अरु सामग्री भन्डारण गरेकाले समयअघि नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

धावनमार्ग सम्पन्न भएलगत्तै आन्तरिकतर्फका उडान पनि नयाँ धावनमार्गबाट हुने र हाल सन्चालनमा रहेको धावनमार्ग ट्याक्सीवेमा परिणत गरिने आयोजनाले जनाएको छ ।

हाल सन्चालनमा रहेको धावनमार्ग पूर्व र पश्चिमतर्फ २००/२०० मिटर बढाएर ट्याक्सीवेकारुपमा प्रयोग गरिनेछ । ट्याक्सीवेको कुल लम्बाई १ हजार ९०० मिटर हुनेछ ।

६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको यस विमानस्थलमा एसियाली विकास बैंकको ५४ करोड अनुदानसहित चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग रहेको छ ।

विमानस्थल निर्माणमा हालसम्म दुई अर्ब ६ करोड बढी खर्च भएको आयोजनाले जनाएको छ ।

विमानस्थल बनाउन ७० जना चिनियाँसहित १३० जना नेपाली कामदार खटिएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस