सय किसान अवधारणा: एइसी र आराभा नेपालबीच कृषि सम्झौता

उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एइसी) र आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीबीच कृषि सम्झौता भएको छ । एइसीको कार्यालय टेकुमा एक कार्यक्रमबीच एइसीको १०० किसान अवधारणा अन्तर्गत सो सम्झौता भएको हो । सम्झौतामा एइसीका सभापती अरुणराज सुमार्गी र कम्पनीको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाईले हस्ताक्षर गरेका थिए । केही समय अघिमात्रै सभापती सुमार्गीले एइसीको नौलो र नेपालको कृषि क्षेत्रको लागि गेमचेन्जर मानिएको १०० किसान कार्यक्रम अघि सारेका थिए । सोही कार्यक्रमलाई अघि बढाउने क्रममा मंगलबार सो सम्झौता भएको हो । सो सम्झौता अनुसार एइसी र आराभा नेपालले देशभरबाट १०० किसान छनौट गर्नेछ ।

देशभरमा रहेका किसानको अवस्था र उनीहरुको व्यवसायिक स्तरोन्नतीको लागि गर्नुपर्ने पहलहरुको विषयमा आधारपत्र तयार पार्ने र त्यसपछि प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी किसान छनोट गरिने एइसीका सभापति सुमार्गीले बताए । एइसीको मुख्य कार्य  सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाली कृषिलाई माथी उठाउनु रहेको सुमार्गीको भनाई थियो ।

आराभा नेपालका अध्यक्ष बजगाईले एइसीसंग सहकार्य गरेर काम गर्न पाउदा खुसी लागेको बताउदै नेपालको कृषिलाई व्यवस्थित बनाउन सम्झौताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । उनले सक्रिय,उर्जाशिल र लामो समयदेखि कृषिमा रहेका किसानलाई अझै परिस्कृत गराउदै उत्पादनलाई बृद्धी गर्नमा टेवा पुर्याउने बताए ।

आराभा नेपाल इजरायलबाट फर्केर आएका नेपालीहरुको एकिकृत कृषि ,कृषि शिक्षा र कृषि पर्यटनका क्षेत्रमा विगत पाँच बर्षदेखि सक्रिय संस्था हो । यसले गण्डकी प्रदेश,कर्णाली प्रदेश सरकार र नेपाली सेनासंग कृषि तथा पशुपक्षी क्षेत्रमा सहकार्य गर्दै आइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply