विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकको कडाइ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन १४, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेको छ ।

शोधनान्तर स्थिति घाटामा र विदेशी विनिमय सञ्चिति दबाबमा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि डाकेर तोकिएको सीमासम्मका लागि पनि सीमित मात्रामा मात्रै नगद भुक्तानी गर्न र बाँकी कारोबारमा विद्युतीय कार्ड प्रयोगमा प्रोत्साहन गर्न राष्ट्र बैंकको बैकिङ विभागले मौखिक निर्देशन दिन थालेको हो ।

विभागले सोमबार र मंगलबार बैंकका प्रतिनिधिलाई बोलाएर मौखिक रूपमा यस्तो निर्देशन दिएको राष्ट्र बैंक स्रोतले बताएको छ । तर विदेशी मुद्रा सटहीसम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा परिवर्तन गरिएको छैन । आवश्यक परेका व्यक्तिले मात्र विदेशी मुद्रा पाउन् र त्यसको अपचलन नहोस् भन्नका लागि बैंकहरूसँग छलफल भएको राष्ट्र बैंकले स्विकारेको छ ।

हाल कायम व्यवस्थाअनुसार विदेशमा रोजगारीका लागि जाने कामदारले प्रतिव्यक्ति बढीमा २ सय अमेरिकी डलर र घुम्न (पर्यटक भिसामा) जानेले प्रतिव्यक्ति बढीमा १ हजार ५ सय अमेरिकी डलर सटही गर्न पाउँछन् ।

खासगरी कोरोना संक्रमणको जोखिम घट्दै गएपछि बैंकहरूबाट पर्यटक भिसाका लागि धेरै विदेशी मुद्रा सटही भएको भेटिएपछि कडाइ गर्न राष्ट्र बैंक तातेको हो । राष्ट्र बैंकले स्थलगत अनुगमन गर्दा पर्यटक भिसामा जानेले धेरै मुद्रा सटही गरेको भेटाएको थियो । यसकारण औचित्य पुष्टि हुने गरी सीमित नगद र बाँकी कार्डमार्फत सटही सुविधा दिन बैंकहरूलाई आग्रह गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘हामीले विद्युतीय कार्डको प्रयोगलाई प्रोत्साहन गर्न खोजेका हौं, विदेशी मुद्रा सटहीमा कडाइ गरिएको छैन,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस