एमालेको विधान महाधिवेशन आजदेखि सुरु

असोज १५, काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । मध्यान्ह १२:१५ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्दैछन् ।

एमालेको विधान महाधिवेशन असोज १७ गतेसम्म चल्नेछ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधान महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिने एमालेले जनाएको छ ।

एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।

महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागी हुनेछन् । प्रतिनिधिहरुका लागि छुट्टाछुट्टै सीट प्लानिङ गरिएको विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजर प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply