साफ च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग खेल्ने

असोज १५, काठमाडौं । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।

१३ औं साफको पहिलो दिन आज दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् । दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

नेपाललाई साफको उपाधि उचाल्न सहज भने हुने छैन । साफको इतिहास हेर्दा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो । नेपाल साफको फाइनल समेत पुग्न सकेको छैन ।

अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिम यस पटक भने उच्च मनोबलमा रहेको छ । युवा र अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टिमले फाइनल खेल्ने योजना बनाएको छ ।

नेपाली टिमः
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द ।

संम्बन्धित समचार

Leave a Reply