मंसिर अन्तिमदेखि रेल सञ्चालनको तयारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ आश्विन १९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १९, जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आगामी मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले मंसिर अन्तिम सातासम्म रेल सञ्चालन गर्ने गृहकार्य भइरहेको बताए ।

यसअघि पनि पटक–पटक मिति तय भए पनि सञ्चालन हुन सकेन । महाप्रबन्धक झाले मंसिरको अन्तिम सातासम्म सञ्चालनमा ल्याउने बताए पनि आवश्यक कानुन भने हालसम्म निर्माण भएको छैन ।

कानुन नै नबनेकाले रेल सञ्चालन आउनेमा जनकपुरवासी विश्वस्त छैनन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र झाले रेल्वे सञ्चालनको निम्ति अहिलेसम्म कानुन समेत नबनेको र रेल सञ्चालन तथा व्यवस्थापन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २२ मा ल्याएको अध्यादेश समेत भदौ मसान्तदेखि निस्क्रिय भइसकेको अवस्थामा मंसिरभित्र रेल सञ्चालन हुनेमा विश्वास गर्न सक्ने आधार नभएको बताए ।

यता महाप्रबन्धक झाले पुनः विधेयक ल्याएर वा अध्यादेशमार्फत् समय रेल सञ्चालन हुने बताए । उनले भने, ‘कानुनको आभावमा रेल सञ्चालनमा बाधा हुँदैन । वर्तमान सरकार यथाशीघ्र रेल सञ्चालन गर्न चाहन्छ । समयमै कानुन निर्माण गरेर रेल जसरी पनि मंसिरको अन्तिम साता सञ्चालनमा आउँछ ।’

गत वर्ष भारतको कोंकन रेल्वे कार्पोरेशनसँग ८४ करोड ६५ लाखमा खरीद गरिएको दुई सेट रेलको वारेन्टी असोज ३ गतेदेखि सकिएको छ । दुवै सेट रेल एक वर्षदेखि सीमावर्ती इनरुवा रेल्वे स्टेशनमा थन्काएर राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस