सन्तोष सुवेदी
कार्तिक १४,धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेंसीबाट गोगनपानी जोेड्ने महेश खोलाको मोटरेवल पुलले जिबन्तता पाउने भएको छ । बिगत ७ वर्षअघि निर्माण सुरु गरिएको पुल अलपत्र अबस्थामा रहेको थियो । तर अहिले भने पुलको काम धमाधम अगाडी बढीरहेको सडक डिभिजन कार्यालय गजुरीका ईन्जिनियर हरि ठकुरीले बताएका छन ।
सुरुमा आर्थिक वर्ष २०६८/६९ मा डिभिजन सडक कार्यालय भरतपुरसँग पुल निर्माणका लागि काठमाडौंस्थित इसान कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । तर पुल निर्माण कार्यमा तदारुकता नदेखाएपछि उक्त कम्पनी अहिले कालो सुचिमा छ ।
कम्पनीले काम गर्दा लिएको सामानको पैसा पनि अझै चुक्ता नभएको रुपाखेति हार्डवयरका अर्जुन रुपाखेतिले जानकारी दिए । हाडवर्यरबाट लगेको रु २५ लाख भन्दा धेरै रकम कस्ले चुक्ता गर्ने सम्बन्धि कुनै जानकारी नभएको उनले बताए । अर्को कम्पनी आएर निर्माणको काम सुरु गरिसकेको अबस्थामा पैसा डुब्ने स्थितीमा पुगेको समेत रुपाखेतिले बताएका छन ।
२५ मिटर लम्बाइको उक्त पक्की मोटरेबल पुल एक करोड ३० लाख रुपैयाँ लागतमा निर्माण गर्न ७ वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर कम्पनी कालो सुचिमा परेसँगै सबै ठेक्का रद्ध गरेर नयाँ कम्पनीलाई काम गर्न दिईएको छ ।
अहिले नेहारिका कस्ट्रक्सन प्रा. लि. हेटौडाले काम गरिरहेको सोहि कम्पनीका प्रमुख शिवनारायण श्रेष्ठले बताए । नेहारिका कस्ट्रक्सनले अहिले रु २२ लाख ६० हजारमा ठेक्का पाएको छ ।
अशोज ८ गते देखि काम सुुरु गरेको यो कस्ट्रक्सनले दसैँ तथा तिहारको बेलामा भने काम नगरेको र तिहार सकिए लगत्तै काम सुरु हुने कस्ट्रक्सनका प्रतिनिधी नवराज रिजालले बताए ।
यसको ठेक्का आगामी बर्षको साउन १९ गतेसम्म रहेको भएपनि ईन्जिनियरहरुको सहयोग भईरहे काम १ महिना भित्रै सम्पन्न हुने समेत रिजालले बताएका छन ।
यो पुल समयमै नबन्दा स्थानिय निकै समस्यामा रहेका छन् । पुल नभएका कारण धादिङको गोगनपानी, कल्लेरी महादेवबेंसी ,नुवाकोटको केहि भाग , केवलपुरका केहि गाउँ लगायत दर्जनौं स्थानमा उत्पादित कृषिजन्य वस्तु तथा बजारका सामान घरसम्म लैजान वर्षायाममा निकै सास्ती हुने गरेको छ ।
बन्दै गरेको पक्की पुलको नजिकै झोलुंगे पुल भएपनि जीर्ण बन्दै गएपछि स्थानीय थप समस्यामा परेका छन् । अब भने पुल बन्ने निश्चित भएपछि स्थानियहरु दङ्ग परेका छन् ।