लुम्बिनी प्रदेशसभा: एमालेको नाराबाजीबीच दुई विधेयक पारित

असोज २०, बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीका बीच लुम्बिनी प्रदेशसभाले दुईवटा विधेयक पारित गरेको छ । बुधबार प्रदेशसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु रोष्टममा पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेका थिए ।

तर सभामुख पूर्णबहादुर घर्तीले बैठक अघि बढाए । प्रदेशसभाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश ५ को प्रदेश पदक ऐन २०७६ संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक बहुमतले पारित गरेको छ ।

एमाले सांसदको नाराबाजीकै बीच सभामुख घर्तीले दुवै विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । दुई विधेयक पारित भएसँगै बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको छ । ४ बजे बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउने छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले आजै प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरिसकेको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी तत्कालीन नेकपाबाट निर्वाचित विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरिरहेको छ ।

प्रदेशसभा सचिवालयले भने अदालतमा विचाराधीन मुद्दामा प्रदेशसभामा कुरा उठाउन नपाइने र सभामुखले एमालेको मागका आधारमा पदमुक्त गर्न नमिल्ने स्पष्ट पारिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply