साफः नेपाल र भारत आज भिड्दै

असोज २४, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ ।

भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

‘भारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ । भारत यस क्षेत्रको उत्कृष्ट टिम हो । उनीहरु ७ पटकको च्याम्पियन हुन्’, प्रशिक्षक अल्मुताइरीले प्रि-म्याच कन्फरेन्समा भने, ‘मेरो विचारमा भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना छ । ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना छ तर मलाई आशा छ हामी भारतसँग हार्ने छैनौँ ।’

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply