आश्विन २४,हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।
तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेश भएन । आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
मुख्यमन्त्री शाक्यले राजनीतिक कुरा नै गरिनन् । उनले दशैं, तिहार र चाडपर्वको विषयमा मात्रै कुराकानी गरेर सम्बोधन सकाएकी थिइन् ।