साफ च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

असोज २५, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन् ।

भारतका लागि सुनिलको यो ७७ औं गोल हो । नेपालविरुद्ध एकतर्फी खेल पस्किएको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।

यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।

नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ ।

भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ । अब बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ ।

बंगलादेशलाई भने नेपालविरुद्ध जितको बिकल्प छैन । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । श्रीलंका भने बाहिरिसकेको छ ।

(Visited 3 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?