मोतीपुर घटना: ४ जनाको मृत्यु, ४९ सुरक्षाकर्मी घाइते

असोज २५, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।

यस्तै घटनामा नेपाल प्रहरी र सशस्त्रका ४९ सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनामा नेपाल प्रहरीका ३० र सशस्त्र प्रहरीका १९ जना घाइते भएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । घटनामा कयौँ सर्वसाधारण पनि घाइते भएका छन् ।

प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि आइतबार प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।

बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।

संम्बन्धित समचार

Leave a Reply