नवरात्रको पाँचौं दिनः आज स्कन्दमाताको पूजा आराधाना गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन २५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २५, काठमाडौं । नेपालीहरुको महान चाड दशैंको आज पाँचौं दिन स्कन्दमाताको विशेष पूजा गरिँदै छ। सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ ।

आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परासमेत रहेको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताउँछन् प्राडा देवमणि भट्टराई । दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस