नेपालमा ४१९ जना रोहिङ्ग्या शरणार्थी

आश्विन ३०, काठमाडौ । काठमाडौँको कपनस्थित लसुनटारमा जस्ताको टहराले बनेको एउटा टोल छ । सो टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्छन् । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि त्यहाँ क्याम्प बनाएर बसिरहेका छन् । कपनस्थित राम मन्दिरमा पनि रोहिङ्ग्याको क्याम्प छ ।

बूढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्याहरु अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिङ्ग्याहरु कालिमाटी लगायतका ठाउँमा डेरा लिएर बसेका छन् । नेपालमा बस्ने रोहिङ्ग्याहरुले आफ्नो नेतासमेत चुनेका छन् । कपनको क्याम्पमा बस्ने अबुल उस्मान उनीहरूका ‘टोली नेता’ हुन् । कपनस्थित क्याम्पमा भेटिएका अबुलका अनुसार नेपालमा ४१९ जना रोहिङ्ग्या शरणार्थी छन् ।

‘क्याम्पमा बस्ने पुराना ३८० जना थिए’ रोहिङ्ग्याका नेता अबुलले भने, ‘कोरोना रोग शुरु भएपछि ३९ जना नयाँ थपिएका छन् । रोहिङ्ग्याकै रेकर्डमा नेपालमा ४१९ जना रोहिङ्ग्या क्याम्पमा बसिरहेका छन् ।

तर, नेपालमा कति रोहिङ्ग्या शरणार्थी छन् भन्नेबारे सकारसँग चाहिँ यकिन तथ्याङ्क छैन । खुल्ला सिमाना भएका कारण नेपालमा कति रोहिङ्ग्या आएर बसेका छन् भन्ने तथ्याङ्क नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेल बताउँछन् । पोखरेलले भने, ‘लुकिछिपी बसेका शरणार्थीलाई हटाउन हामीले प्रहरीलाई निर्देशन गरेका छौँ ।’

लसुनटारस्थित च्याने खोलाको किनारमा क्याम्पमा बस्दै आएका रोहिङ्ग्यामध्ये केही मजदुरी गर्छन् । कतिपय रोहिङ्ग्याहरु माग्न हिँड्ने गरेको स्थानीको भनाइ छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसीआर) ले कोरोना भाइरस सङ्क्रमण शुरु भएपछि रोहिङ्ग्याहरुलाई महिनाको १ हजार भत्ता दिन थालेको छ । २०७६ चैतदेखि युएनएचसीआरले मासिक रकम दिन थालेको रोहिङ्ग्या नेता अबुलले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply