दशैँपछि खुल्न थाले सरकारी कार्यालय, उपत्यकामा बढ्यो चहलपहल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ आश्विन ३१, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ३१,काठमाडौँ । बडादशैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय आज आइतवारदेखि खुलेका छन् । काठमाण्डौ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।

आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाण्डौ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दशैँमा सुनसान प्रायः बनेको काठमाण्डौमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो । विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिन्थे । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहेको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त भएका छन् ।

दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने चलन छ ।

काठमाण्डौ उपत्यकामा पनि दशैँको टीका लगाउन आफन्त तथा मान्यजन कहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रूपमा देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाण्डौ उपत्यकामा दशैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।

दशैँ मनाउन गाउँघर गएका सर्वसाधारण पनि धमाधम काठमाण्डौ भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैँ मनाएर काठमाण्डौ उपत्यका फर्कनेको भिड देखिन्छ । मानिसको चहलपहल र सवारी साधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले काठमाण्डौ पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस