मौसमः भारी वर्षा र हिमपात, सतर्क रहन आग्रह

कार्तिक ०२, काठमाडौं । देशभर मौसम बदली भैरहेको छ । आज बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौंमा पनि भारी वर्षाको सम्भावना रहेको छ । “वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएकाले काठमाडौंमा पनि ठूलो पानी पर्ने सम्भावना छ,” उनले भनिन् ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना मौसमविद् मानन्धर बताउँछिन् ।

प्रदेश १, लुम्बिनी प्रदेशका थोरै स्थान, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण वर्षा भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply