सन्तोष सुवेदी
कार्तिक १५,धादिङ । धादिङ्गको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्के बजारमा सडक बत्ति हालिएसँगै बजार झलमल्ल भएको छ । दैनिक जसो हुने सवारी दुर्घटना, चोरी, रातको समयमा पैदल यात्रुहरुमा हुने समस्या लगायतलाई कम गर्न बजारमा बिद्युत्बाट नै बल्ने करिव ३४ वटा बत्ति सडकको छेउमा रहेको बिजुलीको पोलमा राखिएको छ ।
सौर्य बत्ति राख्दा बादल लागेको दिन सोलार राम्रोसँग चार्ज नहुने र बत्ति धेरै समय नबल्ने समस्या आउने भएकाले बिद्युत्बाट नै बल्ने बत्ति जडान गरिएको धार्केबजार टोलसुधार समितीका अध्यक्ष रामचन्द्र आचार्यले अनलाईन केन्द्रलाई बताए ।
धार्के बजारबासी र धुनिबेशी नगरपालिकाको आर्थिक सहयोगमा बिद्युतिय बत्ति जडान गरिएको अध्यक्ष आचार्यले बताए । बजारबासीको करिव रु. १ लाख ७० हजार रुपैयाँ उठेको र नपुगेको रकम धुनिबेशी नगरपालिकाले बेहोर्ने समेत उनले बताए ।
धार्केबजार टोल सुधार समितीको नाममा मिटर खरिद गरिएको छ । बत्तिको सम्पुर्ण खर्च करिव रु साँढे ४ लाख लाग्ने समेत उनले बताए । धार्केबजारमा अहिले पैदल यात्रु हिड्ने फुटपाथ निर्माण भईसकेको छ । फुटपाथको दुबैतर्फ अशोक बृक्षको बिरुवा पनि रोपिएको छ । प्रत्येक घरको अगाडी भएको बिरुवा घरधनीले नै हुर्काउने तथा सँरक्षण गर्नुपर्ने नियम छ ।
यसैगरि बजारको सुरक्षाको लागी भन्दै ४ वटा सिसि क्यामेरा समेत जडान भईसकेको छ । यसले रातको समयमा हुने अनैतिक क्रियाकलापहरुको पर्दाफास गर्न सजिलो हुने धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए ।
अब छिट्टै नै नौविसे र खानिखोलामा पनी सडकको दायाँबाँया बृक्षारोपण र सडकबत्ती राखिने नगरप्रमुख आचार्यले अनलाईन केन्द्रलाई बताए ।