प्रधानमन्त्रीको आग्रहः विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्नुस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ०५, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएको बताए । बाढी‚ डुबान र पहिरोबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उनले बताए ।

‘बाढीपहिरोबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ प्रधानमन्त्री देउवाले भने‚ ‘काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।’

प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य संगठनले सरकारको प्रशंसा गरेको छ ।’

प्रधानमन्त्री देउवाले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढंगले राहत उपलब्ध गराउनुपर्ने बताए ।

उनले कर्णाली नदीमा आएको बाढीको वितण्डाले तटबन्धन भत्काइ टीकापुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै गम्भीर हुन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताले वर्षापछि कैलालीमा भएको डुबान तथा कटानको विकराल समस्याले किसानको हजारौँ विगहामा लगाइएको धानबाली नष्ट भएको भन्दै पीडित किसानलाई नेपाल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस