एकीकृत समाजवादीको ७३ जिल्लामा कमिटी गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार चार जिल्लाबाहेक अन्यमा जिल्ला कमिटी गठन गरिएको छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको छ ।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन् । देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेकोे विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’ को प्रकाशन तयारी भइरहेको उनले बताए । त्यसमध्ये ‘कलम’को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाइएको छ ।

पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस