पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन केसीको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ६, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सौहार्द बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत वडा तहदेखि भइरहेको प्रतिस्पर्धालाई हार र जीतको विषय नबनाउन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

शनिबार नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा पूर्वसहमहामन्त्री केसीले गुटगत राजनीतिका आधारमा पार्टीमा नेतृत्व चयन नगर्न सुझाव दिए ।

उनले पार्टीभित्र राजनीतिक पूर्वाग्रह र गुटगत निकटताका आधारमा नेता कार्यकर्ताको मूल्यांकन गर्न नहुनेमा जोड दिए । ‘मेरा लागि तपाईंहरू सबै समान हुनुहुन्छ । मैले गुट हेरेर, यो नेताको मान्छे, त्यो नेताको मान्छे भनेर भन्दिन, संगठन बनाउन सक्ने र पार्टीमा योगदान दिने जो कोहि कांग्रेसका नेता कार्यकर्तालाई मेरो साथ र समर्थन हुन्छ,’ उनले भने ।

कांग्रेसको प्रतिस्पर्धा कम्युनिष्टहरुसँग भएकाले पार्टीको अधिवेशनका बेला हुने निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउन नहुनेमा उनको जोड थियो । नेता केसीले भने, ‘यो एउटा लोकतान्त्रिक अभ्यास हो, जित्नेले पराजित हुनेलाई पनि समेटेर अगाडि बढ्नुपर्छ र हार्नेले जित्नेलाई नेता मानेर अगाडि बढ्न सक्यो भने यसले पार्टीमा हार्दिकता ल्याउँछ ।’

नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले पार्टीको जारी अधिवेशनलाई सफल बनाउन सबै नेता कार्यकर्ताको सहयोगको खाँचो औंल्याए । महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्वसँगै ऊर्जा दिने उल्लेख गर्दै उनले भने, ‘यो हाम्रा लागि उत्सव हो, सबै एकताबद्ध भएर पार्टीलाई सहि दिशा र कार्यक्रम दिनसक्ने नेतृत्व चयन गरौं ।’

चियापान कार्यक्रममा नुवाकोट जिल्लामा पार्टीको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र पालिकाका नेतृत्वलगायत नेता कार्यकर्ताको उपस्थिति थियो । नुवाकोटमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस