बैंकहरुमा तरलता अभाव, थप लगानी गर्न नसक्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक ७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०७, काठमाडौँ । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि नभएपछि बैंकहरुमा तरलताको अभाव देखिएको छ । जसले बैंकहरु थप लगानी गर्न नसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ । तर पनि बैंकहरुले सिडी अनुपात ९० प्रतिशत बढाएर कर्जा लगानी गर्दा आफैंलाई असुविधा हुने कारण सचेत रहेका छन् ।

एक बैंकका सीईओका अनुसार स–साना कर्जा मात्र स्वीकृत भइरहेपनि निक्षेप नथपिएसम्म सहज रुपमा लगानी बढाउन नसकिने अवस्था छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल भने बैंकले कर्जा दिन बन्द नगरेको बताउँछन् । तरलता अभाव चर्को भएका बैंकहरुले कर्जामा कडाइ गरेका भएपनि अधिकांश बैंकहरुले लगानी गरिरहेको उनले बताए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुमा पुँजी, कर्जा र निक्षेप (सिसिडी) अनुपात हटाएर कर्जा र निक्षेप (सिडी) अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको हो । यस व्यवस्थापछि बैंकहरुले पुँजीबाट कर्जा दिन नपाउने भए पनि निक्षेप बढाउनका लागि व्याजदरमा प्रतिस्पर्धा भएको थियो । बैैंकहरुको प्रतिस्पर्धाका कारण वाणिज्य बैंककै ब्याजदर १२ प्रतिशत नजिक पुगेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

गत मंगलबार निर्देशनमार्फत १० प्रतिशतभन्दा बढी वा कम ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था गरेपछि बैंकहरुले एकल अंकमा ब्याजदर तोकेका छन् । तर, ब्याजदर बढाउँदैमा नयाँ निक्षेप सिर्जना नहुने बैंकरहरु नै बताउँछन् । अर्का एक बैंकरका अनुसार ब्याजदर बढाउने प्रतिस्पर्धा गर्दा एक बैंकको निक्षेप अर्कोमा सर्नेमात्र हुन्छ, नयाँ निक्षेप सिर्जना हुन सहज छैन ।

चालु आर्थिक वर्षमा समयमै सरकारले बजेट खर्च गर्न नसक्नुलाई बैंकहरुमा तरलता अभावको कारण मानिएको छ । यसैगरी आर्थिक वर्षको पहिलो महिना साउनमै रेमिट्यान्सका साथै पर्यटन लगायत क्षेत्रको आम्दानी घट्नुका साथै आयात उच्च दरमा बढेपछि बैंकहरुमा तरलता अभाव बढ्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस