एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा, बन्द सत्र सौराहामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ०८, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुवात भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाइँदै छ ।

उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकाले नारायणी नदी किनारको खुला ठाउँ छनोट गरिएको उनको भनाइ छ । यस्तै‚ महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन् ।

अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो ।

यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ । व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताइन् । यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस