कर्णालीमा लोकसेवासम्बन्धी अध्यादेश जारी

कार्तिक १०, सुर्खेत । कर्णाली प्रदेशमा लोकसेवासम्बन्धी अध्यादेश जारी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश लोकसेवा आयोग ऐन २०७५ संशोधन गर्न बनेको अध्यादेश –२०७९ जारी गरेका हुन् ।

प्रदेश सरकारले कार्तिक ७ गते ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मंगलवार प्रदेश प्रमुख कलौनीले उक्त अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

यो ऐन दोस्रो पटक संशोधन गरिएको हो । प्रदेश लोकसेवा ऐन २०७५ चैत २७ गते प्रदेशबाट पारित भएको थियो । उक्त ऐनमा त्रुटि देखिएपछि पहिलो पटक संशोधन गरिएको थियो । पहिलो संशोधन विधेयक–२०७६ प्रदेशसभाबाट २०७७ जेठ ३० गते पारित भएको थियो । फेरि दोस्रो पटक ऐन संशोधनका लागि २०७८ जेठ ३ गते प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो ।

प्रदेशसभा सञ्चालन नभएकाले सरकारले अध्यादेशमार्फत दोस्रो पटक संशोधन गरेको हो । ऐन संशोधन भएसँगै अब, प्रदेश लोकसेवा आयोगले विज्ञापन गर्ने तयारी गर्नेछ । यसअघि ऐन संशोधन नहुँदा समस्या भएको भन्दै लोकसेवा आयोगले विज्ञापन गर्न ढिलाइ भएको जनाएको थियो ।

संम्बन्धित समचार

Leave a Reply