चैत मसान्तभित्र सबै नागरिकलाई खोप पाउने गरी व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

कात्तिक ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उनले चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य अनुसार खोपको व्यवस्थापन गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले नागरिकलाई नि: शुल्क खोप उपलब्ध गराउने बताए । ‘दाताहरुसँग पनि खोप मागौं । आग्रह गरौं । हामी आफैं पनि खरिद गरौं तर खोपको कमी हुन नदिऊँ, देउवाले भने, ‘नागरिकलाई निस् शुल्क खोप लगाउने व्यवस्था गरौं ।’

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए ।

सबै नागरिकले खोप लगाउन पाउने अवस्था होस् । कोरोना खोपमा कमी नहोस् भनेर प्रधानमन्त्रीले विशेष निर्देशन दिनुभएको सचिव न्यौपानेले बताए ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपका बारेमा अहिलेसम्मको अवस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो । प्रधानमन्त्री कार्यालयका सचिव न्यौपानका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकमा असोज मसान्तसम्म ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज र २२ प्रतिशतले दुबै डोज लगाइसकेका छन् ।

त्यस्तै मन्त्रालयले कोरोना खोप खरिदका बारेमा पनि बैठकमा जानकारी गराएको थियो ।

अमेरिकाबाट एक लाख डोज फाइजर खोप नेपाल आइसकेको छ । अमेरिकाबाटै ४० लाख मोडर्ना, थप ४० लाख फाइजर र चीनबाट ४० लाख भेरासेल खोप आउन पाइपलाइनमा रहेको जानकारी स्वास्थ्य मन्त्रालयले गराएको छ । माल्दिभ्स, क्यानडालगायतका मुलुकबाट पनि नेपालमा कोरोना खोप आउने सरकारको भनाई छ ।

संम्बन्धित समचार

Leave a Reply