पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहन्छ : गृहमन्त्री खाँण

कात्तिक १४, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका छन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले भने, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’

गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री खाँण रुपन्देही आएका हुन् ।

संम्बन्धित समचार

Leave a Reply