जेठ १८,काठमाडौँ । आगामी जुन १४ बाट सुरु हुने फिफा विश्कप २०१८ मा ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी मध्यका अधिकांश टोलीले विदेशी प्रशिक्षकलाई प्राथमिकता दिएका छन् ।
डिएगो म्याराडोना, लिओनेल मेस्सीजस्ता विश्वप्रसिद्ध खेलाडी उत्पादन गरेको अर्जेन्टिनाले प्रशिक्षकतर्फ पनि यसपटक विश्वकपमा आफ्नो अधिपत्य जमाएको छ । विश्वकपका ३२ टोलीमध्ये ५ टोलीले अर्जेन्टिनी प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएका छन् । अर्जेन्टिनाका जोर्गे साम्पाओली, कोलोम्बियाका जोसे पेकरम्यान, पेरुका रिकार्डो ग्यारेका, इजिप्टका हेक्टर क्युपेर र साउदी अरेबियाका जान एन्टोनियो पिज्जी सबै अर्जेन्टिनी नागरिक हुन् ।
सन् १९७८ मा विश्वकप जितेका मारिओ केम्पेसले अर्जेन्टिनी प्रशिक्षकको विश्वभरनै उच्च मुल्यांकन हुँदै आएको बताए । ‘अर्जेन्टिनी प्रशिक्षकहरुको सोच्ने क्षमता फरक हुन्छ । नयाँ रणनीति अपनाउने देखि खेलको अवस्था अनुसार खेलाडी परिवर्तन गर्न उनीहरुको विशेषता रहेको पाइन्छ,’ उनले भने ।
अर्जेन्टिनाका प्रशिक्षक साम्पाओलीले जुन २०१७ मा जिम्मेवारी सम्हालेका हुन् । अर्जेन्टिनाविश्वकप छनोट नहुने खतरा बढेपछि उनले बाउजाको स्थान लिएका थिए । सन् २०१४ मा चिलीको प्रशिक्षक रहँदा उनको टोलीले ब्राजिलसँग पराजित भएको थियो । साम्पाओलीले स्पेनिस क्लब सेभियाको पनि प्रशिक्षक बनिसकेका छन् ।