कर्णालीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान

कार्तिक १६, काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलका अनुसार आज साँझ ७:३० बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ ।

कर्णालीमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । कांग्रेससँग भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका थिए ।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् ।

यस्तै, कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय छ । ४० जना सांसद रहेको कर्णालीमा एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ ।

प्रदेश सभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई पार्टी मिल्दा ठिक्क बहुमत पुग्छ । प्रदेशमा सत्ता साझेदार नेकपा (एकीकृत सामाजवादी) का पनि तीन जना सांसद छन् ।

संम्बन्धित समचार

Leave a Reply