समय अगावै आयोजना सक्नेलाई १० प्रतिशत पुरस्कार माग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ कार्तिक १६, मंगलबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । निर्माण कम्पनीहरूले समयमा नै आयोजना सम्पन्न गर्ने निर्माण कम्पनीलाई सरकारले १० प्रतिशतसम्म पुरस्कार दिनुपर्ने सुझाएका छन् । सम्झौतामा तोकिएको अवधिभन्दा अघि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सार्वजनिक निकायले कुल सम्झौता रकमको १० प्रतिशतभन्दा नबढ्ने गरी पुरस्कार रकम दिनुपर्ने नेपाल निर्माण व्यवसायी महासंघले माग गरेको हो ।

सार्वजनिक खरिद नियमावली संसोधनको मस्यौदा तयार गर्न बनेको कार्यदलसँगको छलफल कार्यक्रममा महासंघले पुरस्कारसहित ऐन संशोधन गर्न सुझाव दिएको हो । नियमावलीको १२६ नियममा पुरस्कारको व्यवस्था गरिए पनि रकम भने तोकिएको छैन । तर महासंघले रकम नै तोकेर नियमावलीको संशोधन गर्ने सुझाव दिएको हो । निर्माण व्यवसायीलाई पुरस्कार स्वरुप रकम दिँदा समयमै आयोजना सम्पन्न गर्न प्रोत्साहन हुने महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सम्बन्धित सार्वजनिक अधिकारीको कारणले कार्य सम्पादनमा अवरोध, ढिलाइ तथा समयमा निर्णय नगरेका कारणबाट परियोजनाको कार्य सम्पादनमा ढिलासुस्ती भएमा त्यस्तो सार्वजनिक अधिकारीलाई समेत विभागीय कारबाही गर्नुपर्ने महासंघको सुझाव छ । आइतबार भएको छलफलमा महासंघले ४२ वटा बुँदाको सुझाव पेस गरेको थियो ।

कार्यदलले भने विभिन्न निकायसँग छलफल गरेपछि मात्र मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ । कात्तिक ४ गते बनेको कार्यदललाई मस्यौदा तयार गर्न १५ दिनको समय दिइएको थियो । कार्यदलले आन्तरिक कर्मचारी, निर्माण व्यवसायी तथा विकास निर्माणसँग सम्बन्धित मन्त्रालयसँग छलफल गरेर मस्यौदा निर्माणको थालनी गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सूचना अधिकारी राजेशकुमार थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस