आज यमपञ्चकको दोस्रो दिन, काग र कुकुर तिहार मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १७, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १७, काठमाडौं । आज यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहार । आज (बुधबार) कुकरको पूजा गरी कुकुर तिहार मनाइँदै छ । आजको दिन इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिइन्छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ ।

यस्तै कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व पनि आजै परेको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस