भारतको पहिलो जितसँगै सेमिफाइनलको सम्भावना जिवितै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १८, बिहिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १८, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित निकालेको छ । बुधबार अफगानिस्तानलाई ६६ रनले हराउँदै भारतले तीन खेलमा पहिलो जित निकालेको हो ।

तीन खेल खेलेको भारत यो जितपछि दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जितसँगै भारतले सेमिफाइनलको सम्भावना जिवितै राखेको छ । भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्यूजिल्यान्डसँग पराजित भएको थियो ।

चार खेल खेलेको अफगानिस्तान दोस्रो हारपछि चार अंकसहित तेस्रो स्थानमा छ । यसअघि अफगानिस्तानले पाकिस्तानसँग हारेको थियो भने स्कटल्यान्ड र नामिवियालाई हराएको थियो । अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न बाँकी छ ।

बुधबारको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर जम्मा १ सय ४४ रन जोड्न सक्यो । अफगानिस्तानका लागि करिम जन्नतले ४२ तथा कप्तान मोहम्मद नावीले ३५ रनको योगदान गरे । रहमानुल्लाह गुरबाजले १९ रन जोडे ।

भारतका मोहमद शामीले तीन तथा रविचन्द्रन आश्विनले दुई विकेट हात पारे । जसप्रित बुमराह र रविन्द्र जडेजा एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर २ सय १० रन जोड्यो ।

रोहित शर्माले ७४ रन जोडे । उनले ४७ बलको सामना गर्दा ८ चौका र ३ छक्का प्रहार गरे । केएल राहुलले ६९ रनको इनिङ्स खेले । हार्दिक पाण्ड्याले ३५ रन र रिशभ पन्तले २७ रनको योगदान गरे ।

अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले एक/एक विकेट हात पारे ।

ताजा अपडेट

खोजी गर्नुहोस