एनआरएनए स्वतन्त्र छ, कांग्रेसले हस्तक्षेप गर्दैन : सिटौला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २०, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौं । नेपाली कांग्रेसका पुर्वमहामन्त्री कृष्ण सिटौलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वतन्त्र रहेको बताएका छन् । संघ स्वतन्त्र रहेको र नेतृत्व चयनका लागि हुने चुनावमा कांग्रेसले हस्तक्षेप नगर्ने उनले बताए ।

संघकी उपाध्यक्ष एवं अध्यक्ष पदकी प्रत्यासी रबिना थापाले तिहार, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आयोजना गरेको भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा सिटौलाले संघभित्रको आन्तरिक समस्या आन्तरिक रूपमै समाधान गर्न सुझाव दिए ।

प्रजातान्त्रिक पद्धतिमा कसैको हस्तक्षेप बिना एनआरएनएको नेतृत्व चयन हुनुपर्ने उनको भनाई थियो । ‘एनआरएनएमा कांग्रेसले कुनै हस्तक्षेप गर्दैन,’ नेता सिटौलाले भने, ‘प्रजातान्त्रिक पद्धतिअनुसार एकताबद्ध भएर नेतृत्व चयन गर्नु पर्छ ।’ उनले एनआरएनएको अधिकार नयाँ संविधानमा सुनिश्चित गरिएको र अरू अधिकारका लागि पनि आफू सहयोग गर्न तयार रहेको बताए ।

अमेरिका, बेलायत, जापान, कतार, स्वीटजरल्याण्ड, अफ्रिका, पोर्चुगल, जर्मनीलगायत विभिन्न देशबाट कार्यक्रममा सहभागीले एनआरएनएको चुनाव तत्काल हुनुपर्ने जोड दिएका थिए । एनआरएनएको नेतृत्वमा पहिलोपटक महिलालाई पुर्‍याउनुपर्ने र संघलाई साझा संस्थाको रूपमा कायम राख्न रबीना थापाको नेतृत्व मात्रै सफल हुने सहभागीहरूले दाबी गरे ।

उनीहरूले संघको अधिवेशन रोक्न वर्तमान अध्यक्ष कुमार पन्त र अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले भूमिका खेलेको आरोप पनि लगाए । राजनीति घुसाउन पन्त र आचार्य लागेको उनीहरूको दावी थियो ।

विधि र विधानलाई आत्मसात् गरेर तत्काल चुनाव गराउन उनीहरूले वर्तमान नेतृत्वलाई आग्रह गरेका छन् । आयोजक अध्यक्षकी प्रत्यासी थापाले तत्काल चुनाव गराउने अभियानमा आफूहरू लागेको बताइन । उनले पहिलोपटक नेतृत्वमा महिलालाई पुर्‍याएर इतिहास रच्ने अवसर अहिलेको एनआरएनएलाई रहेको उल्लेख गरिन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस