आज हरिबोधनी एकादशी पर्व मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक २९, सोमबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक २९, काठमाडौं । आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ ।

चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ । हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन काठमाडौंका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।

यसैगरी हरिबोधनी एकादशीको अवसरमा संखुवासभाको खाँदबारी नगरपालिका, खोटाङको बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाले पनि कात्तिक २८ र २९ गते दुई दिन सार्वजनिक विदा दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस