नेपाल बैँकको गर्विलो इतिहास र राष्ट्रिय बैङ्क दिवस’ घोषणाको आवश्यकता

-अर्जुनबहादुर कँडेल

सत्रौँ शताब्दी अर्थात् सन् १६९४ मा बेलायतमा स्थापना भएको बैङ्क अफ इङ्ल्यान्डसँगै विश्वमा आधुनिक बैङ्किङ प्रणालीको सुरुवात भएको हो भने नेपालले यसको झन्डै २५० वर्षपछि मात्र आधुनिक बैङ्किङ प्रणाली सुरुवात गर्न सकेको दृष्टान्त भेटिन्छ । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैङ्क लिमिटेड नै नेपालको पहिलो बैङ्क हो । हुन त त्योभन्दा पहिले वि.सं. १९३३ मा रणोद्वीप सिंहले स्थापना गरेको तेजारथ अड्डालाई नै पहिलो पटक सङ्गठित तवरले स्थापना भएको वित्तीय संस्था मानिन्छ । त्यसैगरी वि.सं. १९८९ मा टक्सार अड्डाको स्थापना भई बैङ्किङ प्रणालीको सुरुवात भएको भनिए पनि कानुनी रूपमा नेपाल बैङ्कको स्थापनापछि मात्र नेपालमा औपचारिक बैङ्किङ प्रणाली सुरुवात भएको हो । २०७८ कात्तिक ३० गते ८४ वर्ष पूरा गरी ८५औैँ वर्षमा प्रवेश गर्दै गरेको यो बैङ्क नेपालको बैङ्किङ क्षेत्रको ऐतिहासिक धरोहरको हो भन्दा कुनै अत्युक्ति नहोला ।

लामो समयसम्म एकतन्त्रीय जहानियाँ राणा शासन रहेको तत्कालीन अवस्थामा देशको आर्थिक, राजनीतिक, सामाजिक, कानुनी एवं सैनिक शक्ति पूर्णतया नियन्त्रित रहेकाले वित्तीय क्षेत्रको विकास पनि अगाडि बढ्नसक्ने अवस्था थिएन । देशमा बैङ्कको आवश्यकता महसुस गरी तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले नेपाल बैङ्कको स्थापना गरी आर्थिक गतिविधिहरू अगाडि बढाउन गरेको ऐतिहासिक कदम नेपालको बैङ्किङ इतिहासमा कोसेढुङ्गाका रूपमा रहिरहने छ । नेपाल बैङ्क कानुन–१९३७ अनुसार स्थापना भएको यो बैङ्कको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका हुन् । १० जना लगानीकर्ताबाट नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारी साझेदारी (पीपीपी)को अवधारणामा स्थापना भएको यस बैङ्कको पुँजी संरचना सुरुवातमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा बीचको अवधिमा उक्त अनुपातमा परिवर्तन हुँदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा रहेको छ ।

आठ करोड ४२ लाख रुपियाँ चुक्ता पुँजीबाट सुरु भएको बैङ्कको निक्षेप १७ लाख रुपियाँ थियो भने कर्जा लगानी १९ लाख रुपियाँ थियो । १२ जना कर्मचारीबाट सुरु भएको बैङ्कको सुरुको जारी पुँजी २५ लाख रुपियाँ थियो । केन्द्रीय बैङ्कको स्थापना पनि भइनसकेको तत्कालीन अवस्थामा यस बैङ्कले स्थापनायता वि.सं. १९९४ देखि वि.सं. २०१३ सम्म नेपालको केन्द्रीय बैङ्कको समेत भूमिका निर्वाह गरेको थियो । यो ऐतिहासिक अभिभारा निर्वाह गरेको बैङ्कले नेपालमा भारतीय रुपियाँको चलनचल्तीलाई विस्थापन गरी नेपाली रुपियाँ चलनचल्तीमा ल्याएर राष्ट्रियताको जागरण ल्याउनुका साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बैङ्किङ सुविधा उपयोग गर्ने संस्कृतिको विकास गरेको हो । देशको औद्योगीकरण, व्यापार–व्यवसाय विस्तार, आयात–निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बैङ्कको रूपमा निर्वाह गरेको भूमिका सर्वत्र प्रशंसनीय छ ।

नेपाल बैङ्कको स्थापनासँगै सुरु भएको नेपालको बैङ्किङ प्रणाली हाल अत्यन्त विकसित, प्रतिस्पर्धी, अत्याधुनिक र प्रविधिमैत्री बन्दै गएको छ । वि.सं. २०४० सालसम्म सरकारीस्तरका जम्मा चारवटा बैङ्क मात्र रहेको अवस्थामा २०७८ असोजसम्म आइपुग्दा नेपालमा वाणिज्य बैङ्क २७, विकास बैङ्क १८, वित्त कम्पनी १७, लघुवित्त वित्तीय संस्था ७० र पूर्वाधार विकास बैङ्क एउटा गरी कुल एक सय ३३ वटा बैङ्क तथा वित्तीय संस्था र तिनका १० हजार ८८२ शाखा छन् । नेपालको अर्थतन्त्रमा मौद्रिकीकरण गरी नेपालीको जीवनशैली सहज, सरल एवं जीवनस्तर उकास्न नेपाल बैङ्क नाफाप्रेरित मात्र नभई देशका हरेक वर्ग र क्षेत्रमा पनि वित्तीय सेवाको पहुँच पु¥याउन लागिरहेको देखिन्छ ।

नेपाल बैङ्कले सबै क्षेत्रमा लगानी विविधीकरण गरेको देखिन्छ । कृषि, पर्यटन, जलविद्युत् लगायतका सरकारी नीतिअनुसार प्राथमिकताप्राप्त क्षेत्रमा बैङ्कको लगानी उल्लेख्य छ । युवा स्वरोजगारको क्षेत्रमा होस् वा महिला उद्यमशीलताका क्षेत्रमा होस्, बैङ्कले लगानी गर्न छुटाएका क्षेत्र छैनन् । समग्रमा सरकारको वित्तीय नीति र मौद्रिक नीतिको सफल कार्यान्वयनमा बैङ्कले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यति मात्रै होइन, कोरोना प्रभावित उद्योग व्यवसायको क्षेत्रलाई पुनः पूर्ववत् अवस्थामा फर्काउन सरकारले ल्याएका कार्यक्रमको कार्यान्वयन र राष्ट्र बैङ्कबाट प्राप्त निर्देशन पालनामा देखाएको तत्परता अनुकरणीय छ ।

देशका प्रायः सबै जिल्लामा आफ्ना शाखा सञ्जाल विस्तार गरेको नेपाल बैङ्क हिमाल, पहाड, तराई, मधेसका जनताको आफ्नो बैङ्क हो । काठमाडौँ जुद्ध सडकबाट बैङ्किङ कारोबार सुरु गरेको यस बैङ्कले देशभरका सहर, व्यापारिक केन्द्र तथा दुर्गम क्षेत्रका बजारमा समेत आफ्ना शाखा खोलेर हाल दुई सय १४ शाखा तथा एक सय ५० भन्दा बढी एटीएममार्फत स्वचालित बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा विगतमा बन्द भएका शाखालाई पुनस्र्थापना गर्ने क्रममा बर्सेनि शाखा सञ्जाल विस्तार भइरहेको छ । सरकारी नीतिबमोजिम दूरदराजका स्थानीय निकायमा बैङ्क शाखा स्थापना गर्न अग्रपङ्क्तिमा रहेर बैङ्किङ सेवा प्रदान गरिरहेको देखिन्छ ।

यस बैङ्कमा करिब १९ लाख निक्षेपकर्ता र एक लाखको हाराहारीमा कर्जा सापटीका ग्राहक छन् । यसरी बैङ्कले आफ्ना करिब २० लाख ग्राहकलाई दैनिक रूपमा बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको छ । बैङ्कले निक्षेप, कर्जा सापटी, लगानी, बिल्स, प्रतीतपत्र, बैङ्क जमानत, सुनचाँदी (सामाजिक) कर्जा, वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालीन सेवा, अतिरिक्त बैङ्किङ सेवा, लकर सेवा, घरदैलोमा बैङ्किङ सेवा, पेन्सन भुक्तानी, सामाजिक सुरक्षाभत्ता वितरण, टेलिकम बिल भुक्तानी सेवा, अन्तरशाखा कारोबार, रेमिट्यान्स सेवा साथै नेपालको बैङ्किङ क्षेत्रले अवलम्बन गरेका विभिन्न आधुनिक बैङ्किङ सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । त्यसैले डिजिटल बैङ्किङमा पनि बैङ्क प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

बैङ्कको सबै तहमा दक्ष युवा जनशक्तिको रहेको छ, जुन बैङ्कको एक महìवपूर्ण र सबल पक्ष हो । युवा जनशक्तिको व्यवस्थापनमा सञ्चालित बैङ्क आफ्ना प्रतिस्पर्धीसँग खरो रूपमा उभिन सफल भएको छ । आमजनमानसमा कायम रहेको नेपाल बैङ्कप्रतिको दृष्टिकोणमा पनि व्यापक परिवर्तन आएको छ । यसको मुख्य कारण भनेको बैङ्कको संस्थागत सुशासन र निर्णय निर्माण प्रक्रियामा भएको सुधार हो । प्रभावकारी ग्राहक सेवामा विशेष जोड दिई बैङ्कले कर्मचारी तथा व्यवस्थापनमा हुने गरेको ढिलासुस्तीलाई हटाउन सफल भएको देखिन्छ । निजी बैङ्कसरह अथवा त्योभन्दा पनि उच्च स्तरको ग्राहक सेवा प्रदान गर्ने अठोटका साथ अगाडि बढेको नेपाल बैङ्कमा साँच्चिकै सबै पुस्ताको उत्तिकै आकर्षण देखिन्छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवाका क्षेत्रमा यस बैङ्कले देखाएको अग्रसरता निकै सराहनीय देखिन्छ । मुख्य सेयरहोल्डर सरकार भएका कारणले पनि नाफा मात्र नहेरी समाज र राज्यप्रतिको दायित्व वहन गर्नुपर्ने जिम्मेवारी पनि यस बैङ्कको रहन्छ । त्यसैगरी समयसँगै अघि बढ्दै आधुनिक प्रविधि अवलम्बन गरी ग्राहक सेवामा विशेष सुधार गरेकै कारण हरेक वर्ष यस बैङ्कका वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति आइरहेको देखिन्छ । यति मात्रै नभई नेपाल बैङ्कको सेयर मूल्यमा दोस्रो बजारका लगानीकर्ताको पनि उत्तिकै आकर्षण छ ।

कुनै समय समस्याग्रस्त भई अत्यन्त खराब अवस्थाबाट गुज्रिएको बैङ्क आ.व. २०७७/७८ को अन्त्यसम्म आइपुग्दा अधिकांश वित्तीय परिसूचकले उच्च छलाङ मारेको स्पष्ट देखिन्छ । वि.सं. २०७८ असार अन्त्यसम्ममा यस बैङ्कमा जगेडा तथा कोषहरू २१.५ अर्ब, सेयर पुँजी १२.६४ अर्ब, निक्षेप १७३ अर्ब, कर्जा सापटी १४८ अर्ब, सञ्चालन मुनाफा ४.४९ अर्ब, खुद मुनाफा ३.०६ अर्ब, पुँजीकोष अनुपात १७.९१ प्रतिशत साथै खराब कर्जा दुई प्रतिशतको हाराहारीमा रहेको छ । यसबाट के प्रस्ट हुन्छ भने आमनेपालीको अटूट विश्वास र सरोकारवालाको दरिलो साथ–सम्बन्धले नै नेपाल बैङ्कले आफ्नो गौरवमय इतिहास रच्न सफल भएको देखिन्छ ।

बैङ्कले राजनीतिक परिवर्तन र सङ्घीयतामैत्री हुने गरी सातवटै प्रदेशमा प्रादेशिक कार्यालय खोली तिनै कार्यालयमार्फत आफ्ना शाखा कार्यालयको सुपरिवेक्षण गर्दै आइरहेको छ । नेपालको औद्योगिक, व्यापारिक, राजनीतिक एवं सामाजिक पहिचान बनाएका सबै घरानियाँदेखि दूरदराजमा रहेका किसान, निम्नवर्ग, मध्यमवर्ग, राष्ट्रसेवक कर्मचारी सबैको आफ्नै बैङ्कका रूपमा र कतिपयले यस बैङ्कलाई आफ्नो दुःखसुुख, समृद्धिको सहयात्रीका रूपमा समेत लिने गरेको पाइन्छ । नेपालमा विभिन्न पेसासँग सम्बन्धित राष्ट्रिय दिवस मनाउने गरिन्छ । निजामती सेवा दिवस, सैनिक दिवस, प्रहरी दिवस, पत्रकारिता दिवस लगायतका अनेक दिवस भए पनि बैङ्क दिवस भने मनाउने गरेको पाइँदैन । नेपालको बैङ्क तथा वित्तीय क्षेत्रको जननी नेपाल बैङ्कले देशमा बैङ्किङ पद्धतिको सुरुवात गरी नेपालको आर्थिक विकासमा अभूतपूर्व योगदान गरेको र कात्तिक ३० नेपालको आधुनिक बैङ्किङ विकासको मुख्य ‘टर्निङ पोइन्ट’ भएकाले नेपाल बैङ्कको स्थापना दिवसलाई नेपालमा ‘राष्ट्रिय बैङ्क दिवस’ घोषणा गरी प्रत्येक वर्ष यो दिनलाई विशेष महìवको दिनका रूपमा मनाउनु सान्दर्भिक ठहरिने छ ।

 

(Visited 127 times, 2 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?