घट्यो रेमिटेन्स, बढ्यो व्यापार घाटा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर १, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १, काठमाडौँ । नेपाल लगातार रेमिटेन्स घटेको छ । नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालू आर्थिक वर्षको पहिलो त्रैमास (असोजसम्म)मा रेमिटेन्स ७.६ प्रतिशतले घटेर रु.२ खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको देखाएको छ । यो अघिल्लो वर्षको यही अवधिमा १२.७ प्रतिशतले बढेको थियो । डलरमा पनि रेमिटेन्स असोजमा ७.७ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धिका बावजूद देशको अर्थतन्त्रको टेको मानिएको रेमिटेन्स लगातार घट्न थालेको हो । भदौसम्ममा पनि रेमिटेन्स ६.३ प्रतिशतले घटेको थियो । कोभिड–१९ का कारण अघिल्लो वर्ष वैदेशिक रोजगारीका जान अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या न्यून थियो । यो वर्ष असोजसम्म यस्तो सङ्ख्या ६६ हजार ३१६ पुगेको छ । तर, वैधानिक माध्यमबाट भित्रिने रेमिटेन्स भने लगातार घटिरहेको छ ।

राष्ट्र ब्यांकका अनुसार, असोजसम्म देशको व्यापार घाटा ५८.३ प्रतिशतले बढेर रु.४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । कोभिड-१९ का कारण गत वर्ष व्यापार घाटा १५.१ प्रतिशतले घटेको थियो । चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपालले रु.४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात गरेको छ भने निर्यात जम्मा रु.६५ अर्ब ५ करोडमा सीमित छ । नेपालले आयात गरेका वस्तुमा उपभोग्य वस्तु मात्रै करीब ३६ प्रतिशत छ ।

वैदेशिक व्यापारमा उच्च घाटा र घट्दो रेमिटेन्सको असर देशको बाह्य क्षेत्रको सन्तुलनमा देखिएको छ । असोजसम्म देशको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) रु.७६ अर्ब १४ करोड घाटामा छ । यो भदौमा रु.८३ अर्ब ४१ करोड घाटामा थियो ।

चालू खाता घाटा भने झन् चुलिएको छ । असोजमा चालू खाता रु.१ खर्ब ५१ अर्ब ७० करोडले घाटामा पुगेको छ । भदौमा यो रु.१ खर्ब ६ अर्ब मात्रै घाटामा थियो ।

देशमा भित्रिने तुलनामा बाहिरिने विदेशी मुद्रा बढी भएका कारण देशको विदेशी मुद्राको भण्डारमा चाप थपिइरहेको छ । राष्ट्र ब्यांकका अनुसार, असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ९८ करोड अमेरिकी डलर हाराहारीमा ओर्लिएको छ । यो गत असारका तुलनामा ६.५ प्रतिशत थोरै हो । गत असारमा ११ अर्ब ७५ करोड डलर बराबरको सञ्चिति थियो ।

देशमा  मूल्यवृद्धि दर पनि उकालो लाग्न थालेको केन्द्रीय ब्यांकको तथ्याङ्कले देखाएको छ । असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत छ । यो अघिल्लो वर्षको यही अवधिमा ३.७९ प्रतिशतमा सीमित थियो । गत भदौमा पनि मूल्यवृद्धि ३.४९ प्रतिशत मात्रै थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस