एक पाकिस्तानी अभिनेता जो नेपालमा ‘पण्डित’ बने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक १९, सोमबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कात्तिक १९, काठमाडौं । बीबीसी । हिन्दू धर्मावलम्बी र मुस्लिम धर्मावलम्बी बीचको तनावलाई विषय बनाएर निर्माण भइरहेको हलिउड फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को नेपालमा छायांकन सकिएको छ । आउँदो महिना यो फिल्म रिलिज हुनेछ ।

यस चलचित्रमा पाकिस्तानका चर्चित अभिनेता हमीद शेख हिन्दू पण्डितको भूमिकामा देखिएका छन् । त्यस्तै बलिउडका अभिनेता गुलशन ग्रावरले मुस्लिमको भूमिका निर्वाह गरेका छन् ।

ad ad
हमीद शेख पाकिस्तानको बलुचिस्तानका हुन् । उनी पीटीभी क्वेटामा पनि आवद्ध रहेका छन् । यसका साथै चलचित्र ‘मोर’ मा उनको प्रमुख भूमिका देख्न सकिन्छ । त्यस्तै ‘खुदाके लिए’ मा पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

शेख नयाँ–नयाँ भूमिका निर्वाह गर्न मन पराउने बताउँछन् । बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘‘चलचित्र मोर देखि एक पण्डितसम्मको भूमिका निर्वाह गर्न मलाई खासै कठिन भएन । अभिनेताका रुपमा म केही कुरा पनि सम्झन्छु । बलिउडको असर तथा मेरा केही हिन्दू साथी भएकाले यो भूमिका मैले सहजै निर्वाह गर्न सफल भएँ ।’’

आफू अन्तर–धार्मिक वातावरणमा हुर्केका कारण पनि यस्तो भूमिका निर्वाह गर्न सजिलो भएको अभिनेता शेखको भनाइ छ । ‘‘क्वेटामा मेरो घरको एकातर्फ हिन्दू मन्दिर रहेको छ भने अर्कोतर्फ पारसीहरुको कोलोनी र धार्मिक स्थल छ । त्यस्तै घरको पछाडिपट्टि अहमदीहरुको धार्मिक स्थल । यी सबै चिज सानैबाट देखेर हुर्केँ ।’’

हमीद शेखका अनुसार ‘द म्यान फ्रम काठमाण्डू’ को कथा एक मुसलमान युवकमाथि केन्द्रित रहेको छ । ति युवक अमेरिकाबाट नेपाल आएर आफ्नो बुवाको बिरासत पत्ता लगाउन चाहन्छन् । त्यसै क्रममा उनको भेट एक मुसलमान नेता (गुल्शन ग्रोवर)सँग हुन्छ ।
उनी ती युवकलाई राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् तर सफल हुँदैनन् । हमीद शेख भन्छन्, ‘‘त्यही समय मेरो मुस्लिम नेतासँग मुठभेड हुन्छ । म एक हिन्दू नेता तथा पण्डितको भूमिकामा छु ।’’

यो चलचित्रका निर्देशक पेमा हुन् । उनका पूर्वज तिब्बतबाट नेपाल आएका थिए । पेमाले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । पेमाको हलिउडमा दर्ता भएको आफ्नै चलचित्र निर्माण कम्पनी छ ।

गुलशन ग्रोवरले चलचित्रको कथा पेमाले नै लेखेको पुष्टि गर्दै भने, ‘‘म आफ्नो कामलाई निकै ध्यान दिन्छु । म आफ्नो साथीलाई अझ बढी प्राथमिकता दिन्छु । पेमा मेरा साथी हुन् । फिल्मको छायांकनका लागि समय नै निस्किएको थिएन । साथै दाह्री पनि पाल्नु थियो तर सबै ठीक भयो ।’’

हमीद शेख गुलशन ग्रोवरलाई निकै असल व्यक्तिका रुपमा लिन्छन् । आफूलाई ग्रोवरले धेरै कुरा सिकाएको बताउँदै शेखले भनेका छन्, ‘‘हामी साँझ दालरोटी खान्थ्यौँ र गफ गथ्र्यौँ । उनको खानदानको सम्बन्ध पनि रावलपिण्डीसँग जोडिएको रहेछ । उनी आफ्नो पुस्तैनी घर हेर्न चाहन्छन् । त्यहाँका मान्छेसँग भेट्न चाहन्छन् ।’’

‘द म्यान फ्रम काठमाण्डू’ अमेरिकाका साथै नेपाल र भारतमा रिलिज हुनेछ । हमीदका अनुसार चलचित्रलाई पाकिस्तानमा पनि रिलिज गर्ने प्रयास गरिएको छ । हमीदले यसभन्दा पहिले पनि अमेरिकी चलचित्रमा काम गरिसकेका छन् । अमेरिकी चलचित्रकर्मीहरु व्यावसायिक भएको उनी बताउँछन् ।

हमीद शेख ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र बनाउन चाहन्छन् । त्यसका लागि आफूले रिसर्च गरिरहेको उनी बताउँछन् । ब्रिटिस शासनकालको केही विषय लिएर आफूले चलचित्र निर्माण गर्न लागेको हमीदले बताएका छन् ।
बीबीसीबाट

ताजा अपडेट

खोजी गर्नुहोस