प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीको आन्दोलन जारी, आज बहस पैरवी नगर्ने

मंसिर ५, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज देशभर बहस पैरवी नगर्ने भएका छन् । सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन् ।

नेपाल बार एशोसिएशनको नेतृत्वमा भइरहेको आन्दोलनमा भोलि बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने तथा संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

यस्तै मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने कार्यक्रम छ भने बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने कार्यक्रम तय गरिएको नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश जबरा राजनीतिक भागबण्डामा मुछिएपछि उनको निरन्तर विरोध हुँदै आएको छ । जबराले समस्या समाधानका लागि भन्दै छलफलमा बोलाएको आग्रहमा कानुन व्यवसायीहरुले राजीनामालाई मुख्य शर्त बनाएका छन् । कानुन व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको छ ।

संम्बन्धित समचार

Leave a Reply