एमाले महाधिवेशन: उद्घाटनको दिन प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने

मंसिर ८, काठमाण्डौ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ ।

महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्‍यालीमा एम्बुलेन्स रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताए ।

नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकबाट निस्किने र्‍यालीसँगै एम्बुलेन्स पनि रहने उनको भनाइ छ ।

एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने स्वास्थ्य व्यवस्थापन समितिले बताएको छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताए ।

उद्घाटन समारोह हुने मञ्चको आडैमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलको भनाइ छ । उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्सको व्यवस्थापन गरिनेछ ।

बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा क वर्गको एम्बुलेन्स तयारी अवस्थामा राख्ने पौडेलले बताए । थप चार वटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने बताए ।

बन्दसत्रमा बिरामी भएका प्रतिनिधिलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । महाधिवेशनमा सबै रोगका विज्ञ चिकित्सकसहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुने अधिकारीले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply