चितुवा आतंक : पासोमा बाख्रा राखेर चितुवालाई समात्ने प्रयास जारी

कार्तिक १९,अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आतंक नरोकिएपछि स्थानीय प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास जारी राखेको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार स्थानीयसहित ४० जना प्रहरीको टोली स्थानीय सामुदायिक वनमा परिचालन गरिएको छ । उनीहरुले बस्ती नजिकको जंगलको झाडी सफा गर्ने र चितुवालाई पासोमा पार्न खोर राख्ने काम गरेका छन् ।

प्रजिअ भुसालले भने, ‘वन प्राविधिकहरुसँग सल्लाह गरेर ढिकुरा, किमडाँडा र कुर सामुदायिक वनमा थप तीन वटा खोर राखेका छौं । खोरमा बाख्रो पनि राखिएको छ, ताकि बाख्रो खान आएको चितुवालाई खोरमा थुन्न सकियोस् ।’

गत वर्ष पनि चितुवालाई थुन्न भनेर १२ वटा खोर राखिएको थियो । तर, चितुवा बस्तीमा छिर्ने र मान्छे मार्ने क्रम रोकिएको छैन । प्रजिअ भुसालका अनुसार विगत पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै २ देखि १५ वर्ष उमेर समूहका छन् ।

पछिल्लो पटक भूमिकास्थान नगरपालिका ९ ढिकुरामा मदन घिमिरेका ४ वर्षका छोरा आर्यनको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । यसबारे जानकारी पाएलगत्तै प्रजिअ भुसाल घटनास्थल पुगेर चितुवा नियन्त्रणको उपायबारे पहल थालेका थिए ।

चितुवाको आक्रमण नरोकिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञको टोली पनि बोलाइएको छ । चितुवालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामी प्रयासरत छौं, चितवन राष्ट्रिय निकुञ्जबाट पनि विशेषज्ञ टोली आउँदैछ,’ उनले भने ।

संम्बन्धित समचार

Leave a Reply