स्विडेनकी प्रधानमन्त्रीले दिइन् १२ घण्टा नबित्दै राजीनामा

मंसिर ९, काठमाडौं । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् ।

सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा आएको हो । उनको राजीनामासँगै स्विडेनमा राजनीतिक अन्यौल भएको समाचारमा उल्लेख छ ।

तर उनले सभामुखलाई एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरेको पनि बताइन् ।

गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट अस्वीकृत भएपछि ग्रिन पार्टी सरकारबाट बाहिरिएको थियो । तर प्रधानमन्त्रीका लागि संसदमा हुने चुनावमा एन्डर्सनको पक्षमा मतदान गर्ने उक्त पार्टीले प्रस्ट पारेको छ ।

त्यस्तै, वामपन्थी दल लेफ्ट पार्टीले समेत एन्डर्सनलाई नै मतदान गर्ने बताएको छ । तर सेन्टर पार्टीले मतदानमा सहभागी नहुने बताएको छ ।

बुधबार प्रधानमन्त्रीको रुपमा एन्डर्सन नियुक्त भएकी थिइन् । विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी ५४ वर्षीया एन्डर्सनलाई बुधबार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

स्विडेनमा महिलाले मतदान गर्ने अधिकार पाएको १ सय वर्षपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply