आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित

मंसिर ९,काठमाडौँ । बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् । समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ ।

हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । बिराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको छ । अहिले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने जारी रहेको छ ।

आन्तरिक उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ । मौसमविद गंगा नगरकोटीका अनुसार आज बिहान ६ बजेतिर भिजिबिलिटी १५ सय मिटरमात्रै थियो । अहिले आठ बजेको समयमा केही बढेर २ हजार मिटर पुगेको छ ।

तराईका जिल्लाहरुमा विमानस्थल अनुसार आवश्यक भिजिबिलिटी फरक–फरक छ । उदाहरणको लागि भैरहवामा भिजिबिलिटी १५ सय मिटर भए पुग्छ भने पोखरामा ५ हजार मिटर चाहिने मौसमविद नगरकोटीले बताइन् ।

 

संम्बन्धित समचार

Leave a Reply