एमाले महाधिवेशन विचारको बहस नहुने कुम्भमेला हो : दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ११, शनिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । नेकपा माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन शनिबार एकसाथ शुरु भएको छ । सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्दै भर्चुअल सम्बोधन गरेका छन् ।

सम्बोधन गर्दै दाहालले नेकपा एमालेको महाधिवेशन कुम्भ मेला भएको बताएका छन् । सम्बोधनमा दाहालले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो । हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन । हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत खारेज गर्ने समावेशीतालाई उल्टाउने प्रयासमा समेत केपी ओली सक्रिय भएका आरोप लगाए । दाहालले भने, संविधान र लोकतन्त्रमाथि ओली गुटले मात्रै होइन । देशभित्र र बाहिरका दक्षिणपन्थी शक्तिहरू लागेका थिए । यो हमलाले माओवादीमाथि र माओवादीको एजेण्डा र नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास भएको प्रष्ट भएको छ ।’

ओलीको दुईपटक संसद् विघटन गर्ने प्रयास असफल बनाएर फेरि एकचोटि माओवादी पार्टी विजयी भएको उनको भनाइ छ । ‘प्रतिनिधिसभा दुईपटक विघटन हुँदा पहिलोपटक सडकबाट र दोस्रोपटक गठबन्धन बनाएर लाग्यौँ । धेरै जालझेल र षडयन्त्रलाई परास्त गरेर हामी विजयी भएका थियौँ’ दाहालले भने, ‘हामीले क्रान्तिकारी पार्टीको रूपमा समाजवादी पार्टीको रूपमा अगाडि बढाउनुपर्छ। मार्क्सवाद, लेनिनवाद र समाजवादको आधारमा देश र पार्टी संगठनलाई अगाडि बढाउनुपर्छ भनेर संकल्प गरेका छौँ ।’

सम्बोधनमा दाहालले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए । पछिल्लो समय देशभर माओवादी केन्द्रमाथि जनताको आशा र भरोसा बढेको उनको दाबी छ । ‘माओवादी नै देश परिवर्तनको बहाव रहेछ भनेर जनताहरूलाई लागेको छ। तराई मधेशका जिल्ला मात्रै नभएर हिमाल पहाड सबैका जनताहरूलाई अहिले विश्वास लागेको छ । अहिले जनताको विश्वास बढेको बेलामा हामी पहिलो पार्टी बन्न सक्छौँ । यो हामीलाई अवसर पनि हो’ दाहालको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस